शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका रक्तरंजित सडक

आइतवार , भाद्र ९, २०८१

हरेक वर्ष सिन्धुलीमा सडक दुर्घटनामा औषत ३० जनाको मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको पाँच वर्षको तथ्यांक हेर्दा सिन्धुलीमा हरेक १२ दिनमा एकजनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । सवारीचापसँगै कमजोर सडक संरचना, मानविय तथा प्राविधिक त्रुटिका कारण वर्षेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । यहाँका घुमाउरो र अव्यवस्थित सडकमा दैनिक रगतको खोला बगिरहदापनि सडक दुर्घटना न्युनिकरण गर्न राज्यको संयन्त्रले कुनैपनि प्रभावकारी कदम चाल्न सकेका छैनन् । सडक निर्माणकालागि ठूलो रकम खर्च भएपनि आवश्यक पुर्वाधार तथा उपकरण जडानमा कञ्जुस्याईँ गरेको पाइन्छ । विपी, मदन भण्डारी र पुष्पलाल (मध्यपहाडी) राजमार्गको धेरै सडकखण्ड सिन्धुलीमै पर्नेहुँदा यहाँ दैनिक हजारौँ सवारीसाधन गुड्ने गरेका छन् । तर, सडक सुरक्षाकालागि कुनैपनि उपकरण जडान गरिएको छैन । घुमाउरो सडकमा विपरित दिशाबाट के आईरहेको छ भनेर हेर्न मिल्ने कन्भेक्स मिरर समेत जडान नहुनुले सडक सुरक्षामा यहाँका जिम्मेवार निकायको गैरजिम्मेवारीपनलाई देखाएको छ । जम्मा २० हजार मूल्य पर्ने ऐना जडानमा समेत कञ्जुस्याईँ गर्दा घुमाउरो सडकमा दुर्घटनाको जोखिम बढिरहेको छ । राजमार्ग आयोजना निर्देशनालय, संघ तथा प्रदेश मातहतका जिम्मेवार कार्यालय र स्थानिय सरकार समेतले सडक सुरक्षामा चासो नदिँदा यहाँका सडक यमलोक जाने बाटो बनिरहेको छ । तसर्थ, जिल्लामा देखिएको कहालिलाग्दो सडक दुर्घटनालाई न्युनिकरण गर्न जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

सडक दुर्घटना न्युनिकरण गर्न सडक सुरक्षाकालागि आवश्यक सामाग्री उपलब्ध गराउन यहाँका संघीय तथा प्रदेशका जनप्रतिनिधिले पहल गर्नुपर्ने आवश्यकता छ । सुरुङमार्गको रटान लगाएर जस लिन खोज्ने भन्दापनि तत्काल सडक दुर्घटनाको रोकथामकालागि ससाना योजनामा यहाँका जनप्रतिनिधि केन्द्रित हुन जरुरी छ । सडक दुर्घटनाको न्युनिकरण गर्न तत्काल गर्न सकिने प्रयासलाई प्राथमिकतामा राख्दै दिर्घकालिन योजनालाई पनि समानान्तर रुपमा अघि बढाउन सके मानविय क्षति कम हुनेछ । त्यस्तै, नेपालको कानुनमै प्रत्येक छ÷छ महिनामा गाडीको समग्र अवस्थाको जाँच हुनुपर्ने व्यवस्था रहेकोले नियमनको खाँचो छ । अर्कोतर्फ त्यस्तो जाँच गर्ने ठाउँको सुविधा बढाउनपनि सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्दछ । सडक सुधार र स्तरोन्नतिका नाममा ढिलो गरी काम हुने परिपाटि रोक्न सम्बन्धित निकाय होसियार हुन आवश्यक छ । त्यस्तै, चालकहरूलाई जिम्मेवार बनाउने र सजग गराउने गरी पर्याप्त कामहरू गर्न सके केहि हदमा सडक दुर्घटना न्युनिकरण हुने देखिन्छ । अतः सडक दुर्घटाको भयावह र कहालिलाग्दो अवस्थालाई नजरअन्दाज नगरि तत्काल आवश्यक कदम चाल्न नियमनकारी एवं जिम्मेवार निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया