शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

चाडपर्वमा विकृतिको गन्ध नआओस्

आइतवार , भाद्र २, २०८१

नेपाली समाज अहिले चाडपर्वको समयमा छ । झण्डै डेढ महिनापछि हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैँ आउदैँछ । त्यसअघि जनै पूर्णिमा, , कृष्ण जन्माष्टमी , गाईजात्रा ,हरितालिका तीज लगायत दर्जनौँ चाडपर्व लाईनमै छन् । चाडपर्वको आफ्नै मौलिक गुण र विशेषता छन् । चाडपर्व जहाँको होस्, जसको होस् र जसरी मनाइयोस्, त्यसले पारिवारिक मिलन, आपसी प्रेम र सामाजिक सद्भावलाई बढावा दिने विश्वास हामीमा रहिआएको छ । यही विश्वासले हामी चाडपर्व मनाउँछौँ र आफ्नो संस्कृतिमा गौरव गर्छौँ । तर, पछिल्लो समय चाडपर्व मनाउने क्रममा विकृति बढेको छ । आधुनिकताका नाममा चाडपर्वको वास्तविक महत्व हराउदै गएको छ । आधुनिकताको नाममा हाम्रा परम्परागत चाडपर्व मनाउने तरीकामा हाम्रा गीत संगीतमा, हाम्रा खानपानमा, हाम्रो बोलचाल गर्ने तरिकामा अनि हाम्रा लगाउने कपडामा विकृति प्रवेश गरेको सजिलै अनुमान गर्न सकिन्छ । तसर्थ, चाडपर्वको नाममा देखिएको विकृतिलाई रोक्न जरुरी छ ।

पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्ने तथा नवीकरण गर्ने सेतुका रुपमा चाडपर्वलाई लिनुपर्छ । चाडपर्वलाई भड्किलो बनाउदैँ गर्दा समाजमा अपराधसँगै विकृति बढेको छ । चाडपर्वले परस्पर सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गर्नुपर्नेमा विभिन्न कारणले गर्दा सामाजिक सद्भाव खल्बलिदै आएको छ । हाम्रा प्रत्येक चाडपर्व मनाउनुको पछाडि विशिष्ट अर्थ र अन्तर्निहित उद्देश्य छन् । यी चाडपर्वले हामी, हाम्रो समाज र संस्कृति तथा परम्परालाई प्राचीनकालदेखि डोहो¥याउँदै ल्याएको छ । अतः चाडपर्वमा देखिएको विकृतिको गन्धलाई हटाउन हरेक नागरिक सचेत हुन जरुरी छ ।

प्रतिक्रिया