शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुली अस्पतालको फेसबुक पेजमा दैनिक अश्लिल पोष्ट

आइतवार , भाद्र २, २०८१

सिन्धुली – सिन्धुली अस्पताल सिन्धुलीको आधिकारीका फेसबुक पेजमा दैनिक अश्लिल भिडियो पोष्ट हुने गरेको छ । एक महिना देखि सिन्धुली अस्पतालको फेसबुक पेजबाट दैनिक अश्लिल भिडियो पोस्ट भइरहेको हो ।

गत असार ३१ गतेबाट अस्पतालको फेसबुक पेजमा अश्लिल भिडियो पोष्ट भएको छ । एक महिना अगाडि नै सिन्धुली अस्पताल सिन्धुलीको फेसबुक पेज ह्याक भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन डाक्टर अभिषेक थपलियाले बताउनुभयो । उहाँले अस्पतालको फेसबुक पेज ह्याक भएकाले नयाँ फेसबुक पेज खोलेको बताउनुभयो । ह्याक भएको फेसबुक पेजलाई रिर्पोट गरेर ब्लक गर्न सम्पूर्णलाई उहाँले अनुरोध समेत गर्नुभएको छ । “पुरै ह्याक भएकाले फेसबुक पेज ब्लक गर्न पनि मिलेन, हामीसँग उक्त फेसबुक पेजको पासवर्ड आइडि समेत छैन । हामीले फेसबुक पेज बन्द गर्न धेरै प्रयास पनि गरेका हौँ ,” उहाँले भन्नुभयो ।

अस्पतालको आधिकारीक फेसबुक पेज ह्याकरको कब्जामा गएकोले उक्त पेजबाट पोष्ट भइरहेका अस्लील फोटो साथै भिडियोहरुले सामाजिक रुपमा नकरात्मक असर पार्ने भन्दै फेसबुक पेज रिकभरको तथा बन्द गर्ने प्रयास समेत नगरेको भन्दै स्थानीय आक्रोसित भएका छन् । स्थानीय रमेश मगरले भन्नुभयो, “सरकारी अस्पतालको आधिकारी फेसबुक पेजमै दैनिक अश्लिल भिडियो पोष्ट भइरहेको छ । यसले सामाजिक रुपमा कस्तो असर गरेको छ ? पेजबाट आउने पोष्टहरु हेर्दा आफैलाई लाज लाग्छ । पेज बन्द गर्ने कि रिकभर गर्ने ? यसको प्रयास भएको छैन । एक महिना भइसक्यो, अहिले पनि दैनिक अश्लिल पोष्ट भइरहेको छ ।” ह्याक भएको बिषयमा साईबर र फेसबुकलाई समेत जानकारी गराउने काम अस्पतालले नगरेको उहाँले आरोप लगाउनुभयो । “एक महिना भइसक्यो, साईबर र फेसबुकलाई जानकारी गराए पेज बन्द अथवा रिकभर हुने सम्भावना हुन्थ्यो तर अस्पतालले वेवास्ता गरिरहेको छ । अस्पतालले यस विषयलाई वास्ता गरेको छैन ,” उहाँले भन्नुभयो । पेज कुन उद्देश्यका लागि कस्ले ह्याक गरेको भन्ने अहिलेसम्म केही खुलेको छैन । तर ह्याकरले पेजमा अश्लिल सामाग्री राखिरहेका छन् ।

पछिल्लो समय फेसबुक पेज ह्याक हुने घटना बढिरहेका छन् । चर्चित व्यक्ति तथा संस्थाका फेसबुक पेजहरु दिनदिनै ह्याक भइरहेका खबरहरू बाहिरको छ । अहिले ह्याकहरुले नाम चलेका र धेरै फ्लोअर भएका पेज तथा प्रोफाइलमा विज्ञापन गर्छौ भन्दै म्यासेज पठाउने र उनीहरुले भनेको जस्तै गर्दा अकाउन्ट ह्याक हुने गरेको साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले बताउनुभएको छ । सुरुमा इमेल माग्ने र इमेलमा आएको लिंकमा क्लिक गरेर उनीहरूले भने अनुसार गरेपछि सजिलै अकाउन्ट ह्याक हुने उहाँले बताउनुभयो । आजभोली ह्याकरहरूले तपाईंको फेसबुकको कुकिज समेत माग्ने गरेको उहाँले बताउनुहुन्छ । “कुकिज यस्तो चिज हो, जसबाट पासवर्ड र इमेल बिना नै अकाउन्टमा लगइन गर्न सकिन्छ । यसमा उनीहरुले सबैभन्दा पहिले फेक नोटिफिकेसनमार्फत तपाईको अकाउन्ट÷पेज बन्द हुँदै छ भनेर म्यासेज पठाउँछन् । यदि बन्द हुनबाट बच्ने हो भने तपाईंको फेसबुक अकाउन्टको कुकिज पठाउन भन्छन् । कुकिज कसरी निकाल्ने भनेर उनीहरुले भिडियो ट्युटोरियल नै बनाएका हुन्छन् ,” उहाँले भन्नुभयो । कुकिज पाएपछि उनीहरुले सिधै फेसबुक अकाउन्टमा एक्सेस गर्न सक्ने उहाँले जानकारी दिनुभयो । अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन भए पनि कुकिज पाएपछि सिधै लगइन गर्न सकिन्छ र नयाँ लगइन भएको भनेर फेसबुकमा नोटिफिकेसन समेत नआउने उहाँले बताउनुभयो ।

फेसबुक पेज ह्याक हुन नदिन के गर्ने ?: फेसबुक पेज र प्रोफाइलमा को–को एडमिन छन् भनेर हेर्न साइबर सुरक्षा अनुसन्धानकर्ता सौगात पोखरेलले आग्रह गर्नुभयो । एकजनाको अकाउन्ट ह्याक भएपछि पेज नै ह्याक हुन सक्छ । जथाभावी एडमिन बनाउने काम नगर्न उहाँले सुझाब दिनुभयो । फेसबुकमा आउने फेक नोटिफिकेसनलाई चिन्न उहाँले आग्रह गर्नुभयो । पेज अब बन्द हुन्छ भन्दै म्यासेज आयो भने www.facebook.com÷profile_status मा जाने र त्यहाँ हरियो लाईनमा No restriction लेखेको छ भने पेजमा कुनै समस्या छैन र त्यो नोटिफिकेसन फेक हो भनेर बुझ्न सकिने उहाँले बताउनुभयो । लाखौंको विज्ञापन आयो भन्दै जथाभावी लिंकमा क्लिक नगर्न उहाँले अनुरोध गर्नुभयो । कुकिज चोरीबाट बच्नको लागि आफ्नो मोबाइल, फोन तथा कम्प्युटर लक गर्ने बानी गर्न समेत उहाँले अनुरोध गर्नुभएको छ । फेसबुक ह्याक भएपछि आउने बट कमेन्ट्सलाई चिन्न आग्रह गर्नुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया