बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

हरिबोलले देखाए प्रचण्डको कमजोरी

बुधवार , श्रावण ३०, २०८१

काठमाडौँ – नेकपा माओवादी केन्द्रको जारी स्थायी समिति बैठकमा नेताहरूले नेतृत्वमाथि आक्रोश पोखेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार पाँचौँ दिनको बैठकमा उपमहासचिव हरिबोल गजुरेलले संविधान निर्माणताका अध्यक्ष प्रचण्डको छवि राम्रो भए पनि त्यसयता लगातार बिग्रिँदै गएको बताउनु भएको एक नेताले जानकारी दिए ।

“संविधान बन्दासम्म माओवादीको क्रेज राम्रो थियो । थोरै सिट ल्याए पनि मधेसी दललाई समेत सहमति गराएर संविधान जारी गराउँदा प्रचण्डको इमेज पनि राम्रो थियो तर बिस्तारै खस्किँदै गएकोतर्फ उहाँले सचेत गराउनुभयो”, ती सदस्यले भने ।

समाजवादको कुरा गर्दा सहरी क्षेत्र रहेको पूर्वमा नेतृत्वले ध्यान दिन नसक्दा पार्टी कमजोर भएको निष्कर्ष निकाल्दै गजुरेलले भन्नु भएको थियो, “क्रान्तिलाई पश्चिमबाट पूर्वमा सिफ्ट गर्नुपर्थ्यो । गाउँबाट सहरमा सार्नुपर्थ्यो । पार्टीले गाउँ क्षेत्रलाई नै प्राथमिकता दियो ।”

गजुरेलले पुँजीवाद भएको ठाउँमा धेरै श्रमिक हुनाले त्यस्तो ठाउँ नै समाजवादको आधार हुने बताउनुभयो । संविधान बनेपछि त्यता ध्यान दिनुपर्नेमा नेतृत्व चुकेको उहाँको भनाइ थियो । “पूर्वी क्षेत्र, सहरी क्षेत्रमा संगठन बलियो बनाउनुपर्थ्यो । यसमा ध्यान नपुग्दा पूर्वमा हामी चौथो पार्टी भयौँ,” बैठकमा उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यका प्रायः शून्य नै भयौँ । कार्यदिशा समाजवाद भन्ने, काम कारबाही जनयुद्धकालीन भयो ।”

उहाँले एमालेसँग गठबन्धन गर्नु ठिक भए पनि वैचारिक रूपमा पर्याप्त तयारी नगरी हतारोमा एकता गर्दा पार्टीलाई ठुलो क्षति भएको बताउनु भएको थियो ।

प्रतिक्रिया