शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका आरोपित जनप्रतिनिधि र कर्मचारीसँग स्पष्टिकरण माग

बुधवार , श्रावण ३०, २०८१

सिन्धुलीमा वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको संलग्नतामा गैरकानुनी कार्य भएको घट्ना सार्वजनिक भएको छ । जिल्लाको दुधौली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय बहादुर पौडेलले आफू निर्वाचित भएकै वडाको एक स्थानियको जग्गा आफ्नो नाममा पारेको घट्ना सामाजिक संजाल र मिडियामा छ्याप्छ्याप्ती छ । तर, उक्त विषयमा वडाध्यक्ष र मालपोत कार्यालय सिन्धुलीले कुनैपनि खण्डन वा जवाफ दिएको छैन । वडाध्यक्ष पौडेलले मृतक मानकुमारी गोतामेको नाममा रहेको जग्गा विभिन्न प्रक्रियाबाट आफू र आफ्नो श्रीमतिको नाममा पारेको खबरहरु सार्वजनिक भएको छ । हकवालाले जग्गाको दाबि पेश गर्दै गर्दा वडा कार्यालयले मृतकको आफन्त र टाढाका मानिससम्म छुटाउन नसकि मालपोत कार्यालयलाई सिफारिश गर्नु, हकवालाले जग्गा प्राप्त गरेपछि वडाध्यक्षले सो जग्गा आफू र आफ्नो श्रीमतीको नाममा पार्नु लगायतका घट्नाले शंका गर्ने पर्याप्त ठाउँदेखिएको छ । तसर्थ, वडाध्यक्ष पौडेलले आफूमाथि लागेको आरोपका बारेमा यथाशिघ्र जवाफ दिएर सार्वजनिक पदको गरिमा जोगाउनुपर्ने देखिन्छ ।

सार्वजनिक पद धारण गरेपछि पदको कदर गर्दै आफूमाथि लागेको आरोपप्रति नागरिकलाई जवाफ दिएर जनप्रतिनिधिले राजनैतिक नैतिकता देखाउनुपर्ने हो । तर, यहाँ न त आरोपित वडाध्यक्ष आबद्ध राजनैतिक दलले उनीसँग जवाफ मागेको छ न त उनी आफैँले उक्त घट्नाको खण्डन गरेका छन् । राजनीति समाजसेवा हो । जनप्रनिधि भनेको जनताको अभिभावक हुन् । तर, विभिन्न तिक्डम लगाएर जनताकै जग्गा आफ्नो नाममा पार्न खोज्ने जनप्रतिनिधिबाट यहाँका नागरिकले के अपेक्षा राख्ने ? तसर्थ, वडाध्यक्ष पौडेलले सार्वजनिक रुपमै आफूमाथि लागेको आरोपको जवाफ दिएर दुधको दुध पानीको पानी पार्न जरुरी छ । त्यसैगरि, नक्कली हकवाला खडा गरि अनाधिकृत रुपमा जग्गा पास गरिएको घट्नामा मालपोत कार्यालयको कर्मचारीसमेत संलग्न रहेको आरोप लागिरहेको अवस्थामा जिल्ला प्रशासन कार्यालयले अनुसन्धानकालागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । अतः ‘कुर्थौली जग्गा काण्ड’ लाई सामसुम हुन नदिन यहाँका नागरिक समाज, पत्रकार, राज्यको संयन्त्र लगायत सरोकारवाला निकाय गम्भिर हुनुपर्दछ ।

प्रतिक्रिया