नौँवटा स्थानीय तह रहेको सिन्धुलीमा झण्डै पाच सय जनप्रतिनिधि छन् । नागरिकको नजिकको सम्बन्ध स्थानीय सरकारसँग हुन्छ । तर, स्थानीय सरकारको कामप्रति यहाँका नागरिक सन्तुष्ट हुन सकिरहेका छैनन् । नेतृत्वमा आइसकेपछि पनि जनप्रतिनिधिले पुरानै सोच राखेर काम गरेको नागरिकको गुनासो छ । जिल्लामा सबैजसो जनप्रतिनिधि राजनैतिक पार्टीबाट निर्वाचित भएका छन् । स्थानीय तहको नेतृत्वमा पुगेपछि उनीहरु पार्टीको भन्दा सबै मतदाताहरुका साझा हुनुपर्ने हो । तर, उनीहरुले आफू सबैको साझा भएको कुरा कामबाट देखाउन सकेका छैनन् । स्थानीय तहमा पक्ष विपक्षहरु प्रष्ट देखिने गरेका छन् ।
राजनैतिक सिद्धान्तको अर्थात् पार्टी त भावना त्यहाँ केही मात्रामा देखिनुलाई अन्यथा भन्न मिल्दैन । तर, नेतृत्वमा बसेकाले कामको बाँडफाँड गर्दा आफ्नो पार्टीको मान्छेलाई मात्र नहेरी योग्यता, अनुभवको आधारमा सबैलाई समेट्ने प्रयास गर्नुपर्दछ । सबैलाई भाग दिने प्रयास गर्नुपर्दछ र सबैको सहयोग लिने प्रयास गर्नुपर्दछ । जति सहयोग प्राप्त हुन्छ, उति त्यो सफल हुन्छ । काम गर्दा जसले काखा र पाखा गर्दैन उसकै नेतृत्व सफल हुन्छ। सबैलाई समेट्नु नेतृत्वको खुबी हो । स्थानीय तहमा त्यो खुबी देखाउनु नितान्त आवश्यक छ । जनप्रतिनिधिले आफ्नो कर्तव्य नबिर्सि नागरिकको सेवा र आफू निर्वाचित क्षेत्रको विकास र समृद्धिकालागि समर्पित हुन जरुरी छ ।