शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा शनिबारे हाटबजारलाई व्यवस्थित बनाऔँ

शनिवार , श्रावण २६, २०८१

हरेक शनिबार सिन्धुलीमाढीस्थित कमलामाई नगरपालिका ६ मा शनिबारे हाटबजार लाग्ने गर्दछ । जिल्लाको सदरमुकाममै रहेको र पुरानो हाटबजार भएकाले पनि यहाँ सयौँको संख्यामा जिल्लाभित्र र बाहिरका व्यापारीहरु व्यापार गर्न आउँछन् भने हजारौँ उपभोक्ताहरुले हाट बजारको अवलोकन गर्छन् । यहाँ एक त्यान्द्रो साग वा सानो मात्रामा उत्पादन भएको सामाग्री बेच्न पनि स्थानीयले शुल्क तिर्नुपर्छ । कमलामाई नगरपालिकाले वार्षिक रुपमा ठेक्का लगाएर शनिबारे हाटबजारबाट लाखौँ आम्दानी गरिरहेको छ । तर, दुर्भाग्य नै भन्नुपर्छ स्थानीय सरकारले हजारौँ स्थानीय भेला हुने ठाउँको व्यवस्थापन र सदुपयोग भने गर्न सकिरहेको छैन । शनिबारे हाट बजारले गर्दा कमलामाई नगरपालिका ६ र ५ जोड्ने पुल, गैरिबजार, २ नम्बर बजार लगायत प्रवेशद्वारहरुमा अव्यवस्थित पार्किङका कारण पैदल यात्रीले जोखिमपुर्ण यात्रा गर्नुपरिरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरेर अव्यवस्थित पार्किङको समस्या हल गर्नतर्फ स्थानिय सरकार गम्भिर हुनुपर्ने देखिन्छ । त्यस्तै, शुल्क तिरेर व्यापार गरिरहेका व्यापारीलाई शुद्ध पानी र सफा शौचालयको उपलब्धतता गराउन स्थानीय सरकारले विशेष चासो देखाउन जरुरी छ । कर उठाएर आम्दानि गरिसकेपछि न्युनतम सुविधा दिनपनि स्थानिय सरकारले कञ्जुस्याईँ गर्नु भनेको गलत नियत हो । तसर्थ, शनिबारे हाटबजारलाई थप सुन्दर र सफा बनाउन स्थानिय सरकारले प्राथमिकता दिनुपर्छ ।

हजारौँ मानिस एकै ठाउँमा भेला भएको अवस्था भनेको स्थानीय सरकार र नागरिक प्रत्यक्ष जोडिने मौका पनि हो । त्यसैले हाटबजारबाट थप लाभ लिन यहाँका जनप्रतनिधिले अध्ययन गर्न जरुरी छ । जिल्लाकै भिडभाड हुने मेला सरहको हाटबजार कमलामाई नगरपालिकाको वडा नम्बर ६ मा रहनु भनेको सौभाग्य हो । तसर्थ, शनिबारे हाटबजारलाई थप आम्दानीसँग जोड्न स्थानिय सरकारले अध्ययन गर्न जरुरी छ । त्यस्तै, शनिबारे हाटबजारमा स्थानिय उत्पादनलाई विशेष प्राथमिकतामा राखेर छुटको व्यवस्थासँगै हौसला बढाउनतर्फ सम्बन्धित निकाय सचेत हुनुपर्दछ । अतः शनिबारे हाटबजारलाई व्यवस्थित र सुविधासम्पन्न बनाउन स्थानीय सरकार गम्भिर हुनैपर्छ ।

प्रतिक्रिया