शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

लागुऔषधप्रयोग निरुत्साहित पार्न सकारात्मक कदम

शुक्रवार , श्रावण २५, २०८१

सिन्धुलीबाट नेपाल र भारतको सिमानामा पुग्न जम्मा एक देखि दुई घण्टा लाग्छ । नेपालमा प्रतिबन्धित औषधि लगायत अन्य नसालु औषधि भारतमा पाउने भएको हुँदा यहाँका युवा भारत पुगेरै लागुऔषध सेवन गर्ने गर्दछन् । सिन्धुलीमै पनि लागुऔषध नपाउने भने होइन । तर, जिल्लामै खरिद गर्दा झण्डै १० गुणा बढि मुल्य पर्नेभएपछि प्रयोगकर्ता भारतनै पुग्न रुचाउँछन् । यतिसम्म कि कडा लागुऔषध प्रयोगकर्ताको संख्या पनि सिन्धुलीमा बढिरहेको छ । ब्राउन सुगर, खैरो हिरोइन लगायत इन्जेक्शनयोग्य औषधिको दुर्व्यसनिमा यहाँका युवा फसिरहेका छन् । तर, जिल्लाका स्थानिय सरकार लगायत सरोकारवाला निकायले भने कुनै चासो नदेखाएको अवस्था छ । लागुऔषध दुर्व्यसनिकोे संख्या दैनिक बढिरहेको जानकारी यहाँको स्थानिय सरकारलाई नभएको भने होइन । तर, काग कराउदैँ गर्छ, पिना सुक्दै गर्छ भनेझैँ जिल्लाका जनप्रतिनिधिले लागुऔषध नियन्त्रणकालागि कुनै पहल नगरेको अवस्था हो । जे होस्, बागमती प्रदेशले अन्ततः लागुऔषध सेवन परिक्षण किट दिएसँगै केहि हदसम्म लागुऔषध नियन्त्रण हुने देखिन्छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सक्रियता र पहलमा उक्त किट आएसँगै भारत पुगेर लागुऔषध सेवन गर्नेको संख्या घट्ने देखिन्छ । तर, मुख्य नाकाहरुमा सिसि क्यामराको प्रयोग वा प्रहरी अस्थायी पोष्ट खडा नगरेसम्म प्रयोगकर्ता पक्राउ नपर्ने देखिन्छ । तसर्थ, राजमार्गको वैकल्पिक बाटोमा समेत प्रहरीले निरिक्षण बढाउन जरुरी छ ।

लागुऔषध नियन्त्रणकालागि सिन्धुली प्रहरीले सकारात्मक पहल गरिरहेको छ । निगरानि बढाउनेसँगै कारोबारीलाई पक्राउ गर्न सिन्धुली प्रहरीको प्रयोग स्वागयोग्य छ । तर, मुख्य लागुऔषध कारोबारीलाई पक्राउ नगरेसम्म यहाँ लागुऔषध कारोबार रोकिन असंभव छ । तसर्थ, लागुऔषधको संजाललाई भत्काउदैँ मुख्य कारोबारीलाई पक्राउ गर्न प्रहरीले विशेष अप्रेशन संचालन गर्नुपर्ने आवश्यकता छ । त्यस्तै, जिल्लाका नौँवटै स्थानिय तहले समन्वय गरि जिल्लामै सुधार केन्द्र स्थापनाकालागि पहल गर्न जरुरी छ । अतः लागुऔषध नियन्त्रण गर्न सरोकारवाला निकायबिच समन्वयसँगै हरैक नागरिकले आआफ्नो भुमिका निभाउन आवश्यक छ ।

प्रतिक्रिया