शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

मनसुनि वर्खाप्रति सावधानि अपनाऔँ

बुधवार , श्रावण २३, २०८१

सिन्धुली लगायत देशभर पुनः मनसुन सक्रिय भएको छ । ठूलो मात्रामा पानी परेसँगै सिन्धुलीमा रहेका राजमार्ग लगायत सडक अवरुद्ध हुन थालेका छन् । बाढी र पहिरोका कारण पानी पर्नासाथ यहाँका सडक अवरुद्ध हुने गरेको छ । विपी र मदन भण्डारी राजमार्ग हुदैँ दैनिक हजारौँ यात्रुले यात्रा गर्दछन् । वर्खाको समयमा यी राजमार्गमा यात्रा गर्न कठिन हुने गरेको सवारीचालक र यात्रुले गुनासो गर्ने गरेका छन् । देशकै नमुना राजमार्गका रुपमा परिचित विपी राजमार्गमा यात्रा गर्दा गन्तव्य पुग्नै अनिश्चित हुने गरेको छ । त्यस्तै, मदन भण्डारी राजमार्गमा झनै पहिरोको जोखिम बढि छ । सडक आसपासको पहाडमा रिटेन्सन वाल नभएका कारण पहिरोको जोखिम उच्च रहेको छ । तसर्थ, राजमार्गको हब सिन्धुलीमा अन्य जिल्लामा भन्दा बढि सवारीसाधनको आगमन हुने हुँदा यहाँको सुरक्षामा जिम्मेवार निकाय सचेत हुनुपर्ने आवश्यकता छ । देशकै सबैभन्दा बढि पानी पर्ने जिल्लाको शिर्ष सूचिमा रहेको सिन्धुलीमा मनसुनि वर्खाको जोखिमप्रति सम्बन्धित निकाय होसियार हुनैपर्छ ।

सिन्धुलीमा हरेक वर्ष मनसुन शुरु भएपछि वितण्डा मच्चिने गरेपनि यहाँका जिम्मेवार निकाय सच्चिने पक्षमा छैनन् । यहाँको भुगोल र संरचनानै जोखिमयुक्त रहेकोले संघ, प्रदेश र स्थानिय सरकारले गम्भिर भएर प्राकृतिक प्रकोपको विपत्ति न्युनिकरण गर्नतर्फ ध्यान दिन जरुरी छ । अतः मनसुनि वर्खाप्रति सावधानि अपनाउदैँ यहाँका सुरक्षा संयन्त्र, तीनै तहको सरकार लगायत सरोकारवाला निकायले नागरिकको ज्यानको सुरक्षा गर्नतर्फ विशेष चनाखो हुन जरुरी छ ।

प्रतिक्रिया