शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा तस्करको पहिचान गर

आइतवार , श्रावण २०, २०८१

सिन्धुलीमा काठ तस्करी वर्षौँदेखिको समस्या हो । यहाँबाट वर्षेनि आन्तरिक तथा बाहय खपतकालागि अवैद्य काठ तस्करी हुने गरेको छ । वन जंगलमा धनि जिल्लाको रुपमा लिइने सिन्धुलीमा काठलेनै धेरैको जिवनशैलि परिवर्तन भएको छ । काठको मुल्य बढिरहदा यहाँ भने काठ तस्करी रोकिएको छैन, झनै फस्टाइरहेको छ । जंगल आसपासनै संचालनमा रहेका काठ उद्योगमा धमाधम अवैद्य काठ ओसारपसार हु्ने गरेको स्थानिय बताउँछन् । सामुदायिक वन उपभोक्ता समितिले समेत काठ तस्करी भइरहदा कानमा तेल हालेर बसेको अवस्था छ । यतिसम्मकी समितिकै केहि पदाधिकारी र सदस्य समेत तस्करसँग मिलेर काठ काट्न संलग्न रहने गरेको स्थानियले बताउने गरेका छन् । तसर्थ, सिन्धुलीमा अवैद्य रुपमा काठ ओसारपसार हुने गरेको हुँदा यहाँका सुरक्षा संयन्त्र, सामुदायिक वन उपभोक्ता समिति, वन कार्यालय लगायत सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

काठ तस्करी मौलाइरहेको यथार्थप्रति यहाँका नियमनकारी निकाय र सरोकारवाला निकाय जानकार छन् । तर पनि काठ तस्करी रोक्नकालागि कसैले कठोर कदम चाल्न सकिरहेका छैनन् । रुख काटेर झ्याल, ढोका, दराज लगायत विभिन्न स्वरुपमा काठ तस्करी भइरहदा समेत यहाँका सामुदायिक वन उपभोक्ता सामिति ट्वाल्ल परेर बसेको अवस्था छ । त्यस्तै, वन कार्यालयबाट इजाजत नलिई काठ काट्ने र आपूर्ति गर्न तस्करले के कस्ता प्रक्रिया पुरा गर्छन् भन्नेतर्फ नियमनकारी निकायले अनुसन्धान गर्न जरुरी छ । अतः जिल्लाका वन तस्करकालागि कमाई खाने भाँडो बन्न नदिन प्राकृतिक सम्पदाको संरक्षणमा सबै नागरिक सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया