वर्खायाम शुरु भएपछि सिन्धुलीमा तिव्र गतिमा वन फडानी भइरहेको स्थानियले बताएका छन् । वर्खा शुरु भएसँगै चार महिनाकालागि रुख काट्न प्रतिबन्ध लगाएपनि भित्रि वनमा रुख कटान रोकिएको छैन । अवैद्य तरिकाले रुख कटान भइरहेको स्थानियको गुनासो छ । विशेषगरी, जिल्लाको चुरे क्षेत्रमा पर्ने वनमा काठ तस्करी भइरहेकोमा स्थानिय चिन्तित छन् । बाहिर घना जंगल देखिएपनि भित्री वन क्षेत्रको रुख कटान गरि ओसारपसार गर्ने तस्करहरु सल्बलाएको अवस्था छ । सिन्धुलीसहित बाहिर जिल्लाका तस्करहरुले काठ कटान गरि अन्य जिल्लामा ढुवानी गरिरहेका छन् । तसर्थ, वन फडानी रोक्न राज्यको संयन्त्र चनाखो हुनुका साथै स्थानियबिच एकताको आवश्यकता देखिएको छ । जिल्लामा सामुदायिक उपभोक्ता वन समितिले वनको सुरक्षाकालागि गरेको प्रयास सराहनिय छ । तर, समितिकै केहि पदाधिकारी र सदस्यले अवैद्य रुपमा रुख कटान गरेको समितिकै अन्य सदस्यले बताउने गरेका छन् । तसर्थ, जिल्लामा काठ तस्करीको घट्ना बाहिर नदेखिएपनि भित्रभित्रै तस्करहरुले वन फडानी गरिरहेको अवस्थामा सामुदायिक उपभोक्ता वन समिति, वन कार्यालय, प्रशासन, प्रहरी र सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ ।
काठ तस्करले भित्रि सडकको प्रयोग गर्दै काठ ओसारपसार गरिरहेका छन् । त्यसैले, काठ ओसारपसार हुने संभावित रुटको पहिचान गरि निगरानि बढाउन तर्फ सम्बन्धित निकाय चनाखो हुनुपर्ने देखिन्छ । यतिमात्र नभएर, सामुदायिक उपभोक्ता वन समितिका सदस्यलाई छलफलमा बोलाएर काठ तस्करी विरुद्ध अभियान संचालन गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अतः वन फडानी रोक्न नागरिक र राज्यको संयन्त्रबिच समन्वय हुन आवश्यक छ ।