सिन्धुलीका स्थानीय तहको आन्तरिक आय एकदमै न्युन छ । नौँवटा स्थानीय तह रहेको सिन्धुलीमा आन्तरिक श्रोतको व्यवस्थापन हुन नसक्दा आम्दानी हुन सकिरहेको छैन । यहाँ संघ र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनकालागि निर्माण गरेको संरचना प्रयोगविहिन अवस्थामा छ । जिल्लाको कमलामाई नगरपालिकामा साढे दुई करोड लागतमा निर्माण सम्पन्न भई स्थानीय सरकारलाई हस्तान्तरण भइसकेको शिद्धबाबा भ्युटावरको सदुपयोग भएको छैन । त्यस्तै, कमलामाई नगरपालिका ९ स्थित भिमानमा बागमती प्रदेश सरकारले चार करोडको लगानीमा निर्माण गरिदिएको सुविधासम्पन्न भिमान बसपार्क प्रयोगमा आउन सकिरहेको छैन । जिल्लाको सुनकोशी गाउँपालिकामा एक करोड बढि लागतमा निर्माण भएको ऐतिहासिक मालेपाटि संचालनमा ल्याउन स्थानीय सरकारले कुनै पहल नगरेको अवस्था छ । त्यस्तै, अन्य स्थानीय तहमा पनि पर्यटन प्रवद्र्धनकालागि निर्माण भएको कयौँ संरचनाको सदुपयोग हुन सकिरहेको छैन । सर्वप्रथम त निर्माण सम्पन्न भइसकेका संरचना स्थानीय सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । तर, स्थानिय सरकारले संरचना हस्तान्तरणकालागि कुनै पहल गरेका छैनन् । करोडौँ लगानीमा निर्माण सम्पन्न भइसकेको त्यस्ता संरचनाबाट स्थानीय सरकारले लाखौँ आम्दानी लिन सक्छ । तर, जनप्रतिनिधिसँग पर्याप्त ज्ञान नहुँदा करोडौँका महत्वपुर्ण संरचनाबाट एक रुपैँयापनि आम्दानी हुन नसकिरहेको अवस्था छ । तसर्थ, जिल्लाका स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका त्यस्ता संरचनाको सदुपयोग गरि आन्तरिक आम्दानि लिनतर्फ विशेष चासो देखाउन जरुरी छ ।
स्थानीय सरकारले आफ्नो गाउँ तथा नगरपालिकामा आफैंले कर लगाउन सक्ने ब्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ बमोजिम स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले आन्तरिक आयको ब्यवस्थापन गर्नसक्छ । यो आय नगर तथा गाउँपालिकामै रहन्छ । स्थानीय तहले अब उद्योगधन्दा स्थापना गरि आन्तरिक आम्दानीलाई प्राथमिकता दिन जरुरी छ । त्यसैगरि, यहाँ रहेका संरचनालाई आम्दानिसँग जोड्न स्थानीय सरकार गम्भिर हुनुपर्ने देखिन्छ । जिल्लामा नदिजन्य पदार्थको अवैद्य उत्खनन् भइरहदा स्थानीय सरकारको आम्दानिमा ह्रास आएको छ । त्यसैले, प्राकृतिक सम्पदाको सदुपयोगसँगै करको दायरामा ल्याउन सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । अतः आन्तरिक आम्दानि बढाउन यहाँका जनप्रतिनिधि लगायत सरोकारवाला निकायले गहन अध्ययन गरि ठोस कदम चाल्न ढिलाई गर्नुहुदैँन ।