सिन्धुलीमा सार्वजनिक जग्गा अतिक्रमण रोकिएको छैन । वनदेखि खोला, विद्यालयका जग्गामात्र नभएर नम्बरी जग्गासमेत अतिक्रमण भइरहेको छ । जिल्लाको सदरमुकाम सिन्धुलीमाढिस्थित ग्वाङखोलाको जग्गामा शनिबारे हाटबजार बसालिएको छ भने निजि जग्गामा खोला बगिरहेको छ । खोलाको धारनै परिवर्तन गरेपछि कमलामाई नगरपालिका ६ स्थित शनिबारे हाटबजारको पुछारमा तटबन्धन निर्माणको काममा विवाद हुँदा वर्षौँदेखि सम्पन्न हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयदेखि नापी कार्यालय, मालपोत कार्यालय, नगरपालिका लगायत नियमनकारी निकायको कार्यालय रहेको सदरमुकाममै जग्गा अतिक्रमण भइरहदा ग्रामीण तथा अन्य पालिकामा जग्गा अतिक्रमणको अवस्था कस्तो होला सजिलै अनुमान लगाउन सकिन्छ ।
जग्गा अतिक्रमणमा पहुँचवाला र टाठाबाठाकै संलग्नता रहेको यहाँका स्थानियहरु बताउँछन् । सिन्धुलीका विभिन्न् स्थानीय तहहरुमा ८ हजार ४ सय १० हेक्टर जंगल फडानी गरेर बस्ती बसेको तथ्यांक छ । बनको जग्गामात्र नभएर खोलादेखि विद्यालयसम्मको जग्गा अतिक्रमण भइरहदा यहाँका नियमनकारी निकायले कानमा तेल हालेर बस्नु भनेको कानुनि राज्यको धज्जी उडाउनु सरह हो । यतिसम्म कि अतिक्रमित जग्गामा राज्यकै लगानीमा विद्युत आपुर्ति देखि सडक निर्माणको काम भएका छन् । बनको जग्गा अतिक्रमण भइरहदा यहाँका जनप्रतिनिधिदेखि नियमनकारी निकाय मौन बस्नु लज्जास्पद हो । तसर्थ, सार्वजनिक जग्गा अतिक्रमण बढिरहेको हुँदा यहाँको नागरिक समाज, विद्यार्थी संगठन लगायत नागरिकले बुलन्द आवाज उठाउन जरुरी छ । अतः जिल्लामा रहेका जग्गा माफियाहरुको पहिचान गर्दै सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन जिम्मेवार निकाय गम्भिर हुन आवश्यक छ ।