सिन्धुलीमा सरकारी कार्यालय बाहिर संचालनमा रहेका सहजकर्ता फर्महरुले सेवाग्राहीसँग चर्को शुल्क लिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । अनलाईन फारम भर्न, फोटोकपि गर्न र सामान्य कागजात मिलाउनमात्रै पनि सेवाग्राहीले राज्यलाई भन्दा सहजकर्ता फर्मलाई बढि शुल्क बुझाउनुपर्ने बाध्यता छ । जिम्मेवारीको अनुसार जिल्लाको गृहमन्त्रालय समेत भनिने जिल्ला प्रशासन कार्यालय बाहिरनै सेवाग्राही ठगिने गरेका छन् । सहजिकरणको नाममा सेवाग्राहीसँग चर्को शुल्क लिँदा समेत यहाँका सरोकारवाला निकायले चुइकक नबोलेको अवस्था छ । विशेषगरि, मालपोत कार्यालय, करदाता सेवा कार्यालय, यातायात व्यवस्था कार्यालय लगायत सेवाग्राहीको चाप रहने कार्यालय बाहिर संचालनमा रहेका सहजकर्ता फर्महरुले सेवाग्राहीको अशिक्षा, बाध्यता र मासुमपनको फाईदा उठाउदैँ चर्को शुल्क लिने गरेको वास्तविकता वर्षौँदेखिको हो । यतिसम्मकि सरकारी कार्यालय बाहिर रहेका सहकजर्ता फर्मका कर्मचारीले कर्मचारी बाहेक अरुलाई प्रवेश निषेध गरिएको कार्यालयको कोठा भित्रै लगेर काम गर्ने गरेका छन् । तसर्थ, जिल्लाका सरकारी कार्यालयमा विचौलियाको थिचोमिचोलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय लगायत जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।
केन्द्रदेखि स्थानीय तहसम्मकै सरकारी कार्यालयमा ढिलासुस्ती र कर्मचारीको सुस्त प्रवृत्तिका कारण शारीरिक र मानसिक समस्या झेल्नुपरेको सेवाग्राहीको अनुभव छ । सेवाग्राहीले आफैँले काम गर्नुपरे ढिला हुने तर कार्यालय बाहिर रहेका सहकर्तालाई समाए एकैछिनमा काम फत्ते हुने गरेको छ । राज्यको सेवा, सुविधा लिन र राज्यलाई नै कर बुझाउन पनि सेवाग्राहीले चर्को शुल्क तिर्नुपर्ने बाध्यात्मक अवस्थालाई नियमन गर्न जिम्मेवार निकाय बेलैमा सेचत हुन जरुरी छ । अतः सहजिकरणको नाममा हुने लुट नियन्त्रण गर्न सरकारी कार्यालयनै चनाखो हुन आवश्यक छ ।