नेपालको मुलुकी देवानी संहिता २०७४ ले २० वर्ष पूरा नभई विवाह गर्न बन्देज गरेको छ । यद्यपि सिन्धुलीमा किशोरी अवस्थामै बिहे गरेर बच्चा जन्माउनेहरूको संख्या भने घटेको छैन । कानुनले विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने किशोरीको संख्या जिल्लामा घटेको छैन । २० वर्ष नपुग्दै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको स्वास्थ्यमा असर पुग्ने चिकित्सकहरु बताउँछन् । सुत्केरी भइसकेपछि पनि पाठेघर खस्ने, पिसाब चुहिरहने र बच्चा ख्याउटे हुनेजस्ता दर्जनौँ समस्या निम्तिने गरेको छ ।
पछिल्लो समय विस्तार भएको इन्टरनेटको पहुँच र सामाजिक सञ्जालको उपभोगले किशोर अवस्थामै विवाह गर्नेको संख्या बढ्दो छ । यो सँगै प्रजनन स्वास्थ्य र परिवार नियोजनको प्रयोगका विषयमा गलत भ्रम, अन्धविश्वास आदिले पनि कलिलो उमेरमा गर्भवती हुनेको संख्या नघटेको स्वास्थ्यकर्मी बताउने गर्दछन् । विभिन्न संघसंस्था, सरकारी निकायहरुले विभिन्न नारा नै बनाएर बालविवाहविरुद्धका कार्यक्रमहरु चलाइरहेका छन् । तर त्यस्ता कार्यक्रम सिन्धुलीमा प्रभावकारी नदेखिएको तथ्यांकले बताउँछ ।
गरिबी, अशिक्षा, अन्धविश्वास र प्रजनन स्वास्थ्यस्थितिको सामान्य जानकारीसमेत नहुँदा कयौं गर्भवती महिला अकालमै ज्यान गुमाउन विवश छन् । तसर्थ, सानो उमेरमा गर्भवती हुने समस्या कम गर्न सरकारले विद्यालय तहबाट नै यौन शिक्षा दिने, स्कुल नर्सको सहयोगमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने, किशोर–किशोरीमैत्री सूचना केन्द्रबाट जनचेतना फैलाउन जिम्मेवार निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।