शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा विद्युतिय दुर्घटनाको जोखिम

बुधवार , श्रावण ९, २०८१

सिन्धुलीमा विद्युतिय दुर्घटनाका कारण जनधनसँगै मानविय क्षति बढ्दो छ । गत वर्ष जिल्लाको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा ११ हजार भोल्टेजको मेन लाइनको पोल नजिक एक बालकको मृत्यु भएको थियो । उक्त घट्नामा बालकको बुबा पनि घाइते भएका थिए । त्यस्तै, जिल्लाको दुधौली नगरपालिका–७ सिमराईकि ३४ वर्षीया एक महिलाको बाटोमा लत्रिएको पुरानो तारमा छोएर करेन्ट लाग्दा गत वर्ष मृत्यु भयो । यि त प्रतिनिधि घट्ना मात्र हुन् । जिल्लामा वर्षेनि विद्युतिय दुर्घटनाबाट मानवीय र धनको क्षति बाहेक जनावर तथा पशुपक्षीको पनि क्षति हुने गरेको छ । यस्ता घटनाहरू हामीकहाँ प्रायः भइरहेका छन् । तर, यसलाई स्वभाविक घट्ना र नियमित प्रक्रिया जस्तो सम्झिएर सहने उपभोक्तामा बानी परेको छ । मानौँ, दैवी प्रकोप हो । प्रकृतिको इच्छामा कसले के गर्न सक्छ र भनेजस्तै गरी विद्युतीय दुर्घटनालाई पनि पीडित पक्षले चित्त बुझाइरहेका छन् ।

अधिकांश विद्युतीय दुर्घटनाहरू नांगो तारको कारण भइरहेका छन् । जहाँ नांगो तार छ, त्यहाँ घटना भएका छन् । तसर्थ, विद्युत प्राधिकरणले उपभोक्तालाई जतिसक्दो गुणस्तरीय, खतरामुक्त तथा भयरहित, सहज र सुलभ विद्युत् सेवा उपलब्ध गराउने जिम्मेवारीवहन गर्न आवश्यक छ । त्यसैगरि, विद्युत्जन्य विपद्का प्रमुख कारणहरू द्रुत गतिमा वृद्धि भएको शहरीकरण र विद्युतीय ऊर्जाको उपभोग, त्रुटिपूर्ण विद्युतीय वायरिङ, विद्युतीय सर्किटमा अधिक भार, कम गुणस्तरका विद्युतीय उपकरण, सुरक्षा उपकरणको उचित तरिकाले उपयोग नगरिनु, दक्ष जनशक्तिको ठूलो अभाव लगायत जनचेतना तथा असल अभ्यासको कमी हुन् । तसर्थ, विद्युतिय दुर्घटनाको जोखिम न्युनिकरण गर्न जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । त्यस्तै, प्राधिकरणको विनियमले घाइतेको उपचार गर्ने र मृत्यु भएका मानिसको परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने उल्लेख गरेको हुँदा क्षतिपुर्ति दिलाउन सिन्धुली वितरण शाखाले मृतकका परिवारलाई सहजिकरण गर्न आवश्यक छ ।

 

प्रतिक्रिया