शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको भिमान बसपार्क प्रयोगविहिन

मंगलवार , श्रावण ८, २०८१

सिन्धुलीको कमलामाई नगरपालिवका ९ स्थित भिमानमा निर्माण सम्पन्न भएर उदघाटन भइसकेकोे आधुनिक बसपार्क एक वर्ष बितिसक्दापनि प्रयोगविहिन अवस्थामा छ । प्रदेश सरकारको लगानीमा विपी राजमार्ग र मदन भण्डारी राजमार्गको मिलनविन्दु भिमानमा निर्माण भएको बसपार्क तामझामका साथ उद्घाटन गरेपनि संचालनमा आउन सकेको छैन । वागमती प्रदेश सरकारको लागतमा शहरी विकास तथा भवन कार्यालयले ठेक्का लगाएर कुल ४ करोड २६ लाख ४१ हजार ४ सय रुपैँयाँ लागतमा निर्माण गरेको बसपार्क प्रयोगविहिन हुँदापनि सरोकारवाला निकाय मौन देखिएका छन् । बसपार्क निर्माण हुदैँ गर्दा यस्को र उस्को पहलमा बजेट विनियोजन भएको भन्दै प्रचारप्रसार गर्ने नेता तथा कार्यकर्ताले बसपार्क संचालनमा भने कसैलाई झक्झकाएका छैनन् । गत २०८० भाद्र २७ गते बागमती प्रदेशका मुख्यमन्त्री, प्रदेशका कानुनमन्त्री तथा सिन्धुलीबाट निर्वाचित प्रदेश सांसद, तत्कालिन प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्लाका प्र्रतिनिधिसभा र प्रदेशसभा सांसददेखि वडाध्यक्षसमेतको सहभागितामा उद्घाटन गरिएको बसपार्क प्रयोगमा नआउँदापनि उदघाटनमा सहभागि भएका कसैलेपनि आवाज नउठाएको अवस्था छ । उद्घाटनकालागि मरिहत्ते गर्दै कम्मरकस्ने जनप्रतिनिधिले उदघाटन गरिएको संरचना प्रयोगविहिन हुँदा समेत मौन बस्नु गैरजिम्मेवारीपनको हद हो । तसर्थ, संसद भवनमा विभिन्न विषयमा चर्को आवाज उठाउने ल्याकत राख्नेले जिल्लाका समस्या र अलपत्र योजनाका बारेमा पहल गर्न जरुरी छ । त्यस्तै, पार्टीका कार्यकर्ताले पनि कुनै एक व्यक्तिको दृष्टिविहिनभक्त भएर अघि बढ्ने भन्दापनि समाजमा देखिएका समस्यालाई उजागर गरेर समाधान गर्नतर्फ सम्बन्धित निकायलाई झक्झकाउने काम गर्न आवश्यक छ ।

जिल्लाको कमलामाई नगरपालिकाले सिन्धुलीमाढीको बसपार्क ठेक्का लगाएर वार्षिक २० लाख आम्दानि गर्दै आएको छ । भिमान बसपार्कपनि नगरपालिका मातहतै आउने भएकाले स्थानिय सरकार लाचार भएर पहल गर्न नतम्सिदा वार्षिक लाखौँ आन्तरिक आम्दानि गुमिरहेको अवस्था छ । तसर्थ, भिमान बसपार्कको व्यवस्थापन र संचालनमा जिल्लाका सरोकारवाला निकायले यथाशिघ्र आवाज उठाउनै पर्छ । अतः जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमामात्रै मान्छेको चहलपहल र विकास हुनुपर्छ भन्ने गलत सोचलाई तिलाञ्जली दिएर विकासको दायरालाई विभिन्न ठाउँमा वितरण गर्न यहाँका राजनितिकर्मि लगायत सम्बन्धित निकायले फराकिलो सोच बनाउन आवश्यक छ ।

प्रतिक्रिया