शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

कुशासन विरुद्ध आवाज उठाऔँ

आइतवार , श्रावण ६, २०८१

लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक समाजको योगदान महत्वपूर्ण रहेको छ । नेपालमा सञ्चालित नागरिक समाजको आन्दोलनले सचेत नागरिकहरु राज्य सञ्चालनको विधिमा देखापर्ने खराबीको प्रतिपक्षमा उभिन्छन् भन्ने सन्देश पनि प्रवाह गरेको छ । तर, सिन्धुली लगायत देशभर अहिले नागरिक समाज निष्क्रिय जस्तै छ । जिल्लाको गाउँगाउँमा भ्रष्टाचार, आर्थिक अनियमितता र कुशासन फस्टाइरहदा यहाँका सरोकारवाला निकाय मौन बसेको अवस्था छ । भाइरसका रुपमा फैलिएको भ्रष्टाचारको जालोले जिल्लालाई थला पार्दै गएको छ । जिल्लामा सुशासनको खडेरीका कारण जनतामा डरलाग्दो निराशा छाएको छ ।

जिल्लामा अनियमितता, भ्रष्टाचार र कुशासनको फोहोर सोहोर्नका लागि विद्यार्थी संगठन, संचारकर्मि लगायत नागरिकको सचेत प्रयत्नको अभाव खड्कन पुगेको कुरा सर्वत्र महसुस हुन थालेको छ । अनियमितता र भ्रष्टाचारमा न्यूनीकरण हुँदा जिल्लाको अवस्थामा धेरै सुधार हुने देखिन्छ । त्यसकारण तत्कालका जल्दाबल्दा विषयलाई लिएर सरोकारवाला निकायले अन्तरक्रिया, विचारगोष्ठी, सभा, धर्ना तथा आवश्यकता परेमा रिले अनशन, अनशन अनि भद्र अवज्ञा आन्दोलनसम्मका शान्तिपूर्ण कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । आज सर्वसाधारण जनताले कतै पनि आशा देखेका छैनन् । तसर्थ, जिल्लामा बढ्दो आर्थिक अनुशासनहिनता, भ्रष्टाचार र कुशासनविरुद्ध नागरिकले आवाज नउठाउने हो भने अवस्था विकराल हुने देखिन्छ । अतः गाउँगाउँमा फैलिएको भ्रष्टाचार र राज्यको सम्पत्ति दोहन विरुद्ध जिल्लाका सरोकारवाला निकाय बेलैमा होसियार भई खबरदारी गर्न आवश्यक छ ।

प्रतिक्रिया