पछिल्लो समय सिन्धुलीमा साना सवारीसाधनको संख्या बढेको छ । जिल्लाको ग्रामीण सडकदेखि सदरमुकाममा तीन चक्के सवारीसाधनको संख्या उकालो लागेसँगै जोखिमपनि उत्तिकै बढेको छ । सिन्धुलीमा तीन पांग्रे टेम्पोले ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । यात्रुहरुले पनि छोटो दुरीकालागि सहजै यातायातको सुविधा पाइरहेका छन् । तर, असुरक्षित यात्राले गर्दा यात्रुहरुको ज्यान जोखिममा परेको छ । मुख्यतः समथर वा पिच सडक र छोटो दुरिकालागि टेम्पो उपयुक्त हुन्छ । तर, यहाँ उकालोदेखि ओरालो, हिलाम्मे र भत्किएको बाटोमा समेत तीन पांग्रे सवारीसाधन गुडिरहेको छ । त्यसैगरि, क्षमता भन्दा बढि यात्रु हालेर निर्वाध रुपमा टेम्पो संचालन भइरहेको छ । टेम्पोको व्यवस्थापनमा यहाँको स्थानीय सरकारदेखि ट्राफिक प्रहरी र नियामक निकाय गम्भिर नहुने हो भने आगामी दिनमा दुर्घट्नासँगै धेरैको ज्यान जाने निश्चित छ । तसर्थ, यातायातको पहुँच बढ्नु र रोजगारी सिर्जना भएकोमा मात्रै चुप लागेर बस्ने अवस्था नरहेकोले नकारात्मक पक्षलाईपनि मध्यनजर गरेर विकल्प खोज्न सम्बन्धित निकाय गम्भिर हुनुपर्दछ ।
सिन्धुलीको कमलामाई नगरपालिकासँगै नौँवटै स्थानिय तहमा टेम्पोको संख्या बढेको छ । तर, तीन पांग्रे सवारीसाधन कस्तो सडकलाई उपयुक्त हुन्छ भन्नेतर्फ नियामक निकाय बेखबर जस्तै देखिएको छ । तसर्थ, तीनपांग्रे सवारीसाधनलाई रुटनै कायम गरेर व्यवस्थापन गर्नतर्फ जिम्मेवार निकायले यथासिघ्र कदम चाल्नुपर्ने देखिन्छ । त्यसैगरी, यातायातको पहुँच बढाउन तीनै तहको सरकारले दीर्घकालिन समाधान खोज्न जरुरी छ । जिल्लाको ग्रामीण क्षेत्रमा मात्र नभई सदरमुकाममैपनि क्षमता भन्दा बढि यात्रु हालेर सवारीसाधन निर्वाध रुपमा संचालन भइरहदा नियामक निकायले नदेखेको झैँ गर्नुमा शंका उब्जिएको छ । तसर्थ, जिल्लामा दैनिक सडक दुर्घटना भइरहकोले यहाँका सरोकारवाला निकायले दुर्घटना न्युनिकरण गर्न प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।