२०८१ श्रावण १ को यो बिहानीसँगै सिन्धुली सौगात दैनिक पत्रिका १४ वर्षमा प्रवेश गरेको सुखद खबर सुनाउन पाउँदा हामी ज्यादै हर्षित र खुसी छौँ । खुशीसँगै सिन्धुलीको संचार क्षेत्रको विकास गर्ने जिम्मेवारी थपिएको महशुश हामीले गरिरहेका छौँ । सर्वप्रथम, १४ वर्षको कठिन र रोचक यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण पाठक, श्रोता–दर्शक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक लगायत सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ ।
विज्ञापनको सधैँ खडेरी हुने सिन्धुलीमा दैनिक पत्रिका संचालन गर्न आर्थिक हिसाबले कष्टपुर्ण छ । तर, सिन्धुलीवासिले देखाउनु भएको विश्वास र भरोसाले गर्दा हाम्रो यात्रामा अविराम लाग्न सकेको छैन । पत्रकारीता समाजसेवा हो भन्ने बुझेरै हामीले यो यात्राको शुरुवात गरेका थियौँ र अहिलेपनि हामी त्यहि मान्यतामा छौँ । पत्रिका निकाल्नेक्रममा हाम्रो कलममाथि रोक लगाउन आर्थिक प्रलोभनदेखि धाकधम्कि र विभिन्न प्रयासहरु नभएका होइनन् । जिल्लावसिको साथ र सहयोगलेनै गर्दा हामी बेथिति र विसंगतिविरुद्ध चट्टानझैँ उभिन सकिरहेको छौँ । पत्रकारीतालाई हामीले व्यवसायका रुपमा भन्दापनि समाजसेवाको रुपमा लिएका छौँ । आर्थिक प्रलोभनमा परेर समाचार लुकाउने, बेथिति र अनियमिततामा आँखा चिम्लिने लगायत नैतिकता बेचेर पत्रिका चलाउने दुष्कर्म हामीबाट कहिल्यै नहुने प्रतिबद्धता गर्दै आएका छौँ र गरिरहनेछौँ ।
सूचना–प्रविधिको विकाससँगै सामाजिक सञ्जालको उछाल र परम्परागत सञ्चारमाध्यमको मझधारबाट हामी अगाडि बढिरहेका छौँ । यो पत्रकारिताको चुनौतीपूर्ण यात्रा हो । यद्यपि सत्य र निष्पक्ष सामग्रीका लागि समाचारको प्रामाणिकता र प्रशोधनका लागि आज र भविष्यमा पनि सिन्धुली सौगातले राजमार्गको यात्रा गरिरहनेछ । सिन्धुली सौगात दैनिक पत्रिका सिन्धुलीबाट मात्र नभएर विश्वका जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरि हामीले वेभसाइट संचालन गरेको जिल्लावासिलाई अवगतै छ । हामीसँग दैनिक धधध।कष्लमजगष्किबगनबत।अयm मा लाखौँ पाठक जोडिनु भएको छ र यसलाई हामीले सम्पत्तिको रुपमा लिएका छौँ । पाठकसम्म पुग्न जस्तोसुकै कष्टपुर्ण यात्रा गर्नपनि हामी तयार छौँ ।
पत्रिकाको पहिलो अंक निकाल्दै गर्दा हामीसँग केवल अठोट र आँट थियो, आज १४ वर्षे अनुभवले खारिएका छौँ । दिनहुँ लाखौँ पाठक, दर्शक–श्रोताको अपार मायाबाट प्राप्त उत्प्रेरणाले हामीलाई थप हौसला र टेवा मिलेको छ । यतिका वर्षमा हामीले गरेका कमजोरी र गल्तिहरु हामीलाई महशुश गराएर सच्चिने मौका दिनुभएकोमा हामी धन्यवाद व्यक्त गर्न चाहान्छौँ ।
हामी यो यात्राका एकल यात्री होइनौँ, हामीसँगै हाम्रा लाखौँ पाठक, श्रोता–दर्शक यात्रामा हुनुहुन्छ । त्यसैले आगामी वर्षहरुमा पनि हाम्रो यात्रामा सहकार्य गरिदिनु हुनेछ भन्ने विश्वास लिएका छौँ । यो यात्रा बेथिति र विसंगतिको विरुद्ध हुनेछ, समृद्धि र विकासकालागि हुनेछ । समाचारको श्रोतलाई सधैँ गोपनिय राखिएको यथार्थ पाठवर्गलाई अवगतनै छ । हामी हाम्रो कलमबाट यहाँको बेथिति र विसंगतिविरुद्ध चट्टान सरह उभिने संकल्प गर्दछौँ । यहाँहरूको साथ, सहयोग र स्नेहले हाम्रा कलममा मसि भर्ने छ ।