शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीको औषधी पसलको अनुगमन गर

सोमवार , आषाढ ३२, २०८१

सिन्धुलीमा पछिल्लो समय लागुऔषध प्रयोगकर्ताकालागि जिल्लाकै औषधी पसलबाट औषधि उपलब्ध हुन थालेको छ । प्रयोगकर्ताले विभिन्न माध्यमबाट लागुऔषध खरिद गर्ने गरेका छन् । चिकित्सकको अनुमति बिना दिन नमिल्ने औषधिहरु पनि औषधी पसलले बिना प्रेसकिप्सन विक्री गरेको तथ्य खुलेको छ । त्यसैगरि, कमलामाई नगरपालिकाको केहि औषधी पसलले लागुऔषधनै विक्री गर्ने गरेको स्थानियले गुनासो गरेका छन् । जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको हुँदा सजिलै औषधि उपलब्ध हुने वातावरण सिर्जना हुनुहुदैँन । तर, मेडिकलमै खुलेआम औषधि विक्री हुँदा प्रयोगकर्ताकालागि लागुऔषध प्रयोग गर्न थप सजिलो भएको छ । तसर्थ, जिल्लाको औषधी पसलहरुको अनुगमन गर्न सम्बन्धित निकायले विशेष जोड दिन आवश्यक छ । लागुऔषधको अम्मलले समाजमा ठूलो दुर्घट्ना निम्ताउँछ । यी सबै पक्षलाई मध्यनजरमा राखेर समाजिक दायित्व पुरा गर्दै मेडिकलले चिकित्सकको अनुमति चाहिने औषधि बिना प्रेसकिप्सन बिक्री गर्नुहुदैँन ।

भारतसँग सिन्धुलीको दुरी नजिक भएकाले पनि लागुऔषध प्रयोगकर्ता सेवनकालागि भारत पुग्ने गरेका छन् । सिन्धुलीमा लागुऔषध प्रयोगकर्ताको संख्या ठूलो भएकाले सरोकारवाला निकायले समेत चिन्ता व्यक्त गरेको अवस्था छ । त्यसैगरि, जिल्लामा आउनुभएको नयाँ प्रहरी प्रमुखले समेत लागुऔषध नियन्त्रण गर्नु आफ्नो मुख्य काम भएको बताउनुभएको थियो । उहाँले लागुऔषध नियन्त्रण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । प्रहरी प्रमुखले लागुऔषध नियन्त्रणकालागि बलियो संयन्त्र बनाएर अघि बढ्न आवश्यक छ । केहि प्रहरीनै प्रयोगकर्ता र औषधीपसलेसँग मिल्ने गरेको आरोप समेत लाग्ने गरेको छ । तसर्थ, यो संजालको पत्ता लगाएर बिक्रि गर्ने संचालकलाई आवश्यक कार्वाहीको लागि पहल गर्न जरुरी छ । सेवनकर्ता पक्राउ गरेरमात्र लागुऔषध निर्मुल हुदैँन । ठूलो माछालाई पक्राउ गर्न सके स्वतः लागुऔषध प्रयोगकर्ताको संख्या घट्नेछ । त्यसैगरि, बर्दिबासको बाटोमा ठाउँठाउँमा चेकजाँच पनि बढाइनुपर्छ । स्थानिय सरकारले पनि लागुऔषध प्रयोग गरे नगरेको भनेर जाँच्ने मेसिन ल्याउन पहल गर्नुपर्छ । अतः सिन्धुलीमा लागुऔषधको डरलाग्दो कनेक्सन बिगार्न सम्बन्धित सबै पक्ष चनाखो हुन आवश्यक छ ।

 

प्रतिक्रिया