शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विकास निर्माणलाई परिणाममुखी बनाऔँ

आइतवार , आषाढ ३१, २०८१

सिन्धुलीमा आर्थिक वर्ष २०८०/०८१ सकिनै लाग्दा पूँजीगत खर्चमा उल्लेख्य बृद्धि हुन सकेको छैन । जिल्लामा रहेका संघ र प्रदेश मातहतका कार्यालय र स्थानिय तहका शाखाहरुले वर्षभरि पूँजीगत खर्च कम गर्ने र आर्थिक वर्षको अन्तिम महिनामा पूँजीगत खर्चको दर बढाउन रकमान्तर गर्दा जथाभावी बजेट खर्च हुने र विकास योजनाहरु गुणस्तरीय नहुने खतरा उत्तिकै छ । जिल्लामा काम सम्पन्न भएको देखाउनुेभन्दा पनि काम नहुनुका कारण वा बहानाको सूची बनाउने प्रचलन छ । समयानुकुल हुँदाहुदैँ पनि विकास निर्माणले गति लिन नसक्दा पूँजीगत खर्च बढ्न सकिरहेको छैन ।

पूँजीगत खर्च बढाउन जनप्रतिनिधिदेखि कर्मचारी गम्भिर नहुने हो भने विकास निर्माणको काम परिणाममुखी नहुने देखिन्छ । कनिका छरेजस्तो बजेट बाँड्ने प्रवृत्ति नहट्दा काम सम्पन्न हुन सकिरहेको छैन । पूँजीगत खर्च बढाउन वा विकास निर्माणलाई परिणाममुखी बनाउन कर्मचारीतन्त्रलाई सुदृढ गर्न जरुरी छ । नीति नियमको परिधिभित्र रहेर कानुनी प्रक्रिया पूरा गरेर स्वच्छ मनसायका साथ काम गर्दा कर्मचारी वा जनप्रतिनिधि अनावश्यकरुपमा डराउनु नै पर्दैन । पछिल्लो समयमा काम गर्दा समस्या आउँछ, त्यसैले काम नै नगरौँ भन्ने प्रवृत्ति कर्मचारीतन्त्रमा बढ्दै गएको छ । यसलाई चिरेर काम गरौँ तर अनियमितता नगरौँ भन्ने भावनाको विकास गर्नु जरुरी छ । त्यसका लागि सबै तहका सरकारले वातावरण बनाउनुपर्छ । अब हरेक तहका सरकारले बजेट निर्माणदेखि नै ध्यान दिएर पूँजीगत खर्च बढाउनतिर ध्यान दिनैपर्छ । अतः पुरानो तरिकाबाट अब जनताले चाहेजस्तो विकास निर्माणले गति लिने देखिदैन ।

प्रतिक्रिया