शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

घरेलु हिंसाको डरलाग्दो रुप

बिहिवार , आषाढ २८, २०८१

सिन्धुलीमा घरेलु हिंसा एउटा जटिल समस्या बन्दै गएको छ, जसले जनसंख्याको ठूलो हिस्सालाई असर पारेको छ । पितृसत्तात्मक मान्यता र मूल्यमान्यता, आर्थिक निर्भरता, शिक्षा र चेतनाको अभाव, मदिरा र लागूपदार्थको दुरुपयोग, कमजोर कानुनी र संस्थागत ढाँचाका कारण घरेलु हिंसा बढिरहेको छ । नेपालको कानुनमा घरेलु हिंसाको व्यवस्था भए पनि अझैसम्म हाम्रो समाजमा घरेलु हिंसा भनेको के हो ? आफूलाई गरेको व्यवहार घरेलु हिंसा हो कि होइन भनी छुट्याउन सकिरहेका हुँदैनन् र घरेलु हिंसा भएको थाहा पाए पनि समाज र परिवारको इज्जतको डरले सम्बन्धित निकायसम्म आउन सकिरहेका छैनन् । त्यसकारण सम्पूर्ण नागरिकमा कानुनको प्रत्याभूति भई घरेलु हिंसा नसहौँ र सहेर नबसौं भन्ने भावनाको जागृत हुन जरुरी छ । घरेलु हिंसाविरुद्ध व्यापक जनचेतनाको आवश्यकता छ ।

घरेलु हिंसा भएको ९० दिनभित्र नजिकको प्रहरी कार्यालयमा उजुरी गरिसक्नुपर्छ । ९० दिनपछि उजुरी गर्दा उजुरी दर्ता पनि नहुने र घटनासँग सम्बन्धित प्रमाणको लोप हुन सक्छ । त्यसैले घरेलु हिंसाभित्र पर्ने विभिन्न प्रकारका हिंसाहरु शारीरिक यातना, मानसिक यातना, यौनजन्य यातना वा आर्थिक यातना भएमा समयमै उजुरीका लागि प्रहरी कार्यालय जानुपर्छ । सिन्धुली लगायत देशभरमा घरेलु हिंसाका मूल कारणलाई सम्बोधन गर्न स्थानिय सरकारदेखि तीनै तहको सरकार, सुरक्षा संयन्त्र, नागरिक समाज र अन्य सरोकारवालाहरूको निरन्तर प्रयास आवश्यक छ, जसमा शिक्षा र चेतनामूलक कार्यक्रम, न्यायमा सुधारिएको पहुँच र दुव्र्यवहारबाट जोगिएकाहरूलाई सहयोग गर्नु रहेको छ ।

 

 

प्रतिक्रिया