सिन्धुलीमा किसानलाई अन्नबाली जोगाउन हम्मे हम्मे हुने गरेको छ । जिल्लाको महाभारत क्षेत्रका किसानहरु जंगली जनाबरबाट हैरान भएका छन् । जंगल नजिकका बस्तिमा किसानले लगाएको बालिनाली बाँदर, बँदेल, दुम्सी जस्ता जनाबर आएर नष्ट गर्नुका साथै मानिसलाई समेत बेलाबेलामा आक्रमण गर्ने गरेको छ । महाभारत तथा गड्तीर क्षेत्र अन्तर्गतका सुनकोशी गाँउपालिका, गोलञ्जोर गाँउपालिकाका, कमलामाई नगरपालिका, घ्याङलेख गाँउपालिका लगायत स्थानिय तहका किसानले मौसम अनुसार उत्पादन गर्ने मकै, धान, भटमास, आलु, अन्य तरकारी र फलफुल जंगली जनावरले सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । धेरै जसो बिसानको विहान उठेदेखि बेलुका साँझसम्म नै खेतमा बास हुने गरेको र जंगलको छेउछाउको बस्तिका किसान बाँदरबाट धेरै पीडित बनेका छन् ।
किसानको खेतमा जंगली जनावरले क्षति गर्न नछोडे पनि क्षति न्यूनीकरणका लागि किसान नै रातभर जाग्राम बस्नुबाहेक अहिलेसम्म अन्य अरु विकल्प अपनाइएको देखिदैन । कडा मिहिनेत र लगानी लगाएर गरिएको खेतीपातीमा वन्यजन्तुले नोक्सान गरेमा किसानले सजिलै क्षतिपूर्ति पाइरहेको अवस्था छैन । र, क्षतिपूर्ति पनि थोरै छ । त्यसैले वन्यजन्तुबाट भइरहेको समस्या दीर्घकालीन रुपमा समाधानका लागि सरोकारवालाले ध्यान दिन आवश्यक छ ।