सिन्धुलीको तीनपाटन गाँउपालिकास्थित माध्यमिक विद्यालय लंगुर छबिसेमा एसइई उत्तिर्ण गर्न शिक्षकले पैसा उठाएको आरोप लागेको छ । एसइई उत्तिर्ण गर्ने वातावरण मिलाउन शिक्षकले विद्यार्थीसँग पाँच सय रुपैँयाको दरले पैसा उठाएको विद्यार्थीले गुनासो गरेका छन् । सामाजिक संजालमै विद्यार्थीले शिक्षकलाई आरोप लगाइरहेको अवस्था छ । एसइई पास गराउन सेन्टरमा मिलाउनुपर्ने भन्दै शिक्षकले पैसा लिएको घट्नालाई कुनैपनि निकायले गम्भिरतापुर्वक लिएका छैनन् । सामाजिक संजालमै आएर विद्यार्थीले आरोप लगाइरहदा पनि यहाँको स्थानीय सरकार, जिल्ला प्रशासन, शिक्षा समन्वय इकाई, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी संगठन लगायत सरोकारवाला निकाय मौन बस्दा शिक्षा क्षेत्रको बदनाम भइरहेको छ । तसर्थ, एसइई उत्तिर्ण गराउन पाँच सय रुपैँया लिएको घट्नालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले यथाशिघ्र छानबिन गर्नुपर्छ ।
सिन्धुलीमा शिक्षा क्षेत्रमा बढ्दो राजनीिितकरण भएको भन्दै अभिभावकले असन्तुष्टि पोखिरहेका छन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा प्रक्रियानै मिच्ने, अभिभावकहरुपनि प्रलोभनमा पर्ने लगायत जनप्रतिनिधिले आफू नजिकको कार्यकर्तालाई पद सुम्पिन कसरत गर्ने प्रचलनले गर्दा जिल्लाको शैक्षिक क्षेत्रमा व्यापक निराशा छाएको छ । विद्यार्थी स्वयंले शिक्षकलाई आरोप लगाइरहदा यहाँका जिम्मेवार निकायले आँखा चिम्लिनु र विद्यार्थी संगठन चुपचाप बस्नु लज्जास्पद हो । तसर्थ, शिक्षामा राजनीति बन्द गर्दै तीनपाटनको घट्नाको छानबिन गर्न जिम्मेवार निकायले सक्रियता बढाउन जरुरी छ । अतः विद्यार्थीको रोदनले श्राप लाग्ने अवस्था नआओस्, चेतना भया !