शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा बजेट सक्ने मेसो

शुक्रवार , आषाढ २२, २०८१

सिन्धुलीमा चालु आर्थिक वर्षको अन्तिम महिनामा अनावश्यक कार्यक्रम राखेर बजेट सक्ने काम भइरहेको छ । संघदेखि प्रदेश मतहतका कार्यालय र स्थानीय सरकारका विभिन्न शाखाले आर्थिक वर्षको अन्तिम महिनामा बजेट सक्ने मेसो गर्दै फजुलका कार्यक्रम संचालन गरेर नागरिकको करको दुरुपयोग गरिरहेका छन् । शिक्षकलाई एक दिने अभिमुखिकरण, कृषकलाई एक दिनको तालिम जस्ता निकै नै छोटो अवधिको कार्यक्रमले शिक्षक र कृषकलाई कतिको फाइदा पुर्‍याउँछ, त्यो सरोकारवाला निकायले बुझन् जरुरी छ । जिल्लाका स्थानीय तहले आर्थिक वर्षको अन्तिम महिनामा एक दिने कार्यक्रम नियमित जसो गरिरहेका छन् । एक दिनको कार्यक्रममा सिप विकास र क्षमता अभिवृद्धि हुने कस्तो जादुई तालिम सरकारी कार्यालयले दिइरहेको छ ?, नागरिक समाज, पत्रकार, विद्यार्थी संगठन, कृषक समुह लगायत सरोकारवाला निकायले जवाफ माग्नुपर्ने देखिन्छ ।

एक मुठा साग उत्पादनमा कर लगाउने सरकारले अनावश्यक कार्यक्रम गरेर नागरिकको करको दुरुपयोग गर्न मिल्दैन । सरोकारवाला निकाय, आफ्ना नजिकका इष्टमित्रको मुख थुन्न पहुँचको आधारमा कार्यक्रमको नाममा राज्यको ढुकुटि रित्याउने कामप्रति खबरदारी गर्न जरुरी छ । त्यसैगरि, संघ र प्रदेश मातहतका कार्यालय र स्थानिय तहको शाखाहरुले हालसम्म गरेका कार्यक्रम स्पष्ट उल्लेख गरि वेभसाइट लगायत विभिन्न माध्यममा सार्वजनिक गर्ने वातावरण सिर्जना गर्न सरोकारवाला निकायले दबाब दिन जरुरी छ । अतः नागरिक सचेत नहुँदासम्म सिन्धुलीमा बजेट सक्ने कार्यक्रम भइनैरहन्छ । तसर्थ, नागरिकले सूचनाको अधिकारको प्रयोग गरि गलत कार्य हुन नदिन गम्भिर हुनुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया