शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपचारको व्यवस्था गर

बिहिवार , आषाढ २१, २०८१

सिन्धुलीमा वर्षेनि सर्पको टोकाइबाट मानविय क्षति हुने गरेको छ । जिल्लाको दुधौली नगरपालिकामा गत वर्षमात्रै सर्पको टोकाइबाट एक दर्जन बढि मानिसको मृत्यु भयो । कमलखोंच क्षेत्रमा विषालु सर्पबाट स्थानिय सधैँ तर्सिएर बस्नु परेको अवस्था छ । सर्पदंशका बिरामीहरु समयमै उपचार नै नपाएर मरिरहेका छन् । सर्पदंशको उपचारलाई हेर्ने हो भने त्यो त्यति सहज नभएको पाइएको छ । वडामा सर्पदंशको उपचार नै सम्भव नभएको अवस्थाले समस्या विकराल बनिरहेको छ ।

सर्पदंशको उपचारलाई सहज र सरल बनाउन विशेषगरी बढी प्रभावित क्षेत्रहरुको पहिचान गर्न अहिले आवश्यक भएको छ, जसका लागि विस्तृत योजनाहरुका साथमा अघि बढ्न सकिन्छ । सर्पदंश उपचार केन्द्रमा औषधिको उपलब्धता, जनशक्ति परिचालन लगायत उपचारकालागि आवश्यक सामाग्रीको व्यवस्था गर्न सम्बन्धित निकाय गम्भिर हनु जरुरी छ । त्यसैगरि, संघीयसँगै स्थानीय सरकारहरुले आआफ्नो जिम्मेवारी निभाउन चुक्नुहुदैँन । गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय सहयोगदाताहरुले समेत यस क्षेत्रमा पर्याप्त काम गर्न सक्ने अवस्था छ । सर्पदंश विकराल समस्याका रुपमा विस्तार भैरहेको वर्तमान स्थितिमा त्यसका निम्ति स्वास्थ्यकर्मीसँगै स्थानीय समुदायबीचको सहकार्य र हातेमालोको समेत उत्तिकै भूमिका छ ।

समुदायस्तरमा गरिएका जनचेतनामूलक कार्यक्रमले सचेतता र सतर्कतालाई उच्चरुपमा बढाउन सक्ने हुनाले त्यस्ता अभियानहरु समेत सर्पदंशको न्यूनीकरण र रोकथामका लागि अचुक औषधि साबित हुन सक्ने पक्षप्रति सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ । अतः सर्पदंशको गम्भिर बिरामीलाई तत्काल उपचारको व्यवस्था गर्न तीनै तहको सरकार गम्भिर हुन जरुरी छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया