एसइई परिक्षामा सिन्धुलीका सामुदायिक विद्यालयको नतिजा लज्जास्पद आएको छ । एक दर्जन बढि सामुदायिक विद्यालय एसइईमा निल भएको नजिता सार्वजनिक भएसँगै जिल्लाको शिक्षा क्षेत्रको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने जमात बढेका छन् । सर्वप्रथम, संविधानलेनै विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत हुने व्यवस्था गरेपछि सामुदायिक विद्यालयको बिग्रदो नतिजाप्रति स्थानीय सरकार जवाफदेहि हुनुपर्ने देखिन्छ । संविधानले कक्षा १२ सम्मको शिक्षा स्थानीय तह मातहत राखिदिएको छ । स्थानीय सरकार मातहतमा शिक्षा आएपछि सिन्धुलीको शिक्षा क्षेत्र झनै भताभुंग भएको छ । शिक्षामा बढ्दो राजनीतिकरणका कारण गुणस्तरीय शिक्षा पाउन विद्यार्थी वञ्चित भइरहेको अवस्था छ । शिक्षा क्षेत्रमा देखिएका विभिन्नखाले विकृति दिन प्रतिदिन मौलाउँदै गएका छन् । सरकारी विद्यालयमा समयमै पाठ्यपुस्तक नपुग्ने, गुणस्तरीय शिक्षा नहुने लगायतका विषय बारम्बार दोहोरिने गरेका छन् । तर, स्थानीय सरकारले बिग्रदो शिक्षा गुणस्तरीयताप्रति चासो देखाएका छैनन् ।
जनप्रतिनिधिले शिक्षकहरूको ल्याकतमा भन्दा नियतमा प्रश्न उठाएपछि समस्या ज्यूँको त्यूँ भएको गुनासो छ । स्थानीय तहमा दलीय राजनीतिक पक्षधरता प्रस्ट हुने हुँदा शिक्षक÷जनप्रतिनिधि अर्को दलसम्बद्ध भएका खण्डमा त्यस्तो असन्तुष्टि झन् गहिरो देखिन्छ । सिन्धुलीका थुप्रै स्थानमा जनप्रतिनिधि र शिक्षकहरूबीच द्वन्द्व देखिन्छ, जुन कहीँ सुषुप्त छ भने कहीँ छताछुल्ल । त्यस्तै, सामुदायिक विद्यालयमा सुरु हुँदै गरेको अंग्रेजी भाषाको पढाइका केही समस्या छन् । नेपाली माध्यमबाट पढाइरहेका तर अंग्रेजी–ल्याकत कमजोर भएका धेरै शिक्षकले कस्तो अंग्रेजीमा पढाउलान् ? जसोतसो पढाए पनि कति बुझाउलान् ?