शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपभोक्ता ठगिदा ट्वाल्ल नपर

मंगलवार , आषाढ १९, २०८१

सिन्धुलीको सुनकोशी गाउँपालिकामा किसानले तीन हजार रुपैँया प्रति किलोमा खरिद गरेर रोपेको मकैमा घोगानै लागेन । महिनौँसम्म दुःख गरेर हुर्काएको केही मकैको बोटमा घोगा लागेपनि मकैको गेडा फलेन । जिल्लाका किसानलाई यस्तो बज्रपात परेको यो मात्र पहिलो घट्ना भने होइन । यहाँ किसान बिउविजनमा ठगिएका छन्, विद्यार्थी किताब, कपीमा लुटिएका छन्, गृहिणीहरु नुन, तेल र दैनिक उपभोग हुने सामाग्रीमा ठगिको सिकार भइरहेका छन् । वस्तु र सेवाहरू प्रयोगको लागि खरिद गर्ने वा प्रयोग गर्ने उपभोक्ताहरु दैनिक ठगिदा पनि यहाँका सरोकारवाला निकाय मौन देखिएका छन् । उपभोक्ता अधिकार आधारभूत मानव अधिकार हो । संविधानको धारा ४४ मा मौलिक हकको बारेमा लेखिएको उपभोक्ताको हकको धारामा प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा प्राप्त गर्ने हक हुनेछ भनिएको छ । त्यसैगरी गुणस्तरहीन वस्तु र सेवाबाट हानी पुगेमा क्षतिपूर्तिको हक हुनेछ भनिएको छ । तर, उपभोक्तालाई दिईएको अधिकार उनीहरुले पाएका छैनन् । मौलिक हकको कार्यान्वयन गर्ने जिम्मा सरकारकै हो । यसर्थ उपभोक्ताको हक प्राप्तिका लागि पहिलो दायित्व सरकारकै हो । तसर्थ, राज्यको संयन्त्रले उपभोक्ताको अधिकार हनन् हुन नदिन विशेष चासो देखाउन जरुरी छ ।

सिन्धुलीमा अनुगमनको नाममा बार्गेनिङ हुने गरेको इतिहास छ । खुद्रा व्यापारीलाई कानुनको दायरामा ल्याएर थोक विक्रेतालाई उन्मुक्ति दिने गरेको तीतो यथार्थ पनि छ । कानुन विपरित क्रियाकलाप गर्ने जोकोहिपनि कार्वाहीको दायरामा आउनुपर्छ । स्थानिय सरकारले बजार अनुगमनलाई विशेष प्राथमिकता दिन जरुरी छ । अतः बजार अनुगमनलाई चासोका साथ स्थानिय सरकार, जिल्ला प्रशासन लगायत जिम्मेवार निकायले अघि बढाउन गम्भिर हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया