शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

एसइई नतिजाको समिक्षा गर

शनिवार , आषाढ १६, २०८१

गत चैतमा सञ्चालित एसईई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेसँगै शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याउनुपर्ने बहस सतहमा आएको छ । सिन्धुलीसहित देशभर एसइई परिक्षाको नतिजा सन्तोषजनक नरहेको तथ्यांकले देखाएको छ । सिन्धुलीमा मात्रै एसइईको फारम भरेका ५६ प्रतिशत विद्यार्थी परिक्षामा अनुपतिर्ण भएको पाईएको छ । त्यसैगरि, साधारण तथा प्राविधिकतर्फका सामुदायिक विद्यालयको नतिजा निजि विद्यालयभन्दा कमजोर रहेको छ । राज्यका तीनै तहको सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिरहेका छन् । तर, देशको शिक्षा क्षेत्रको गुणस्तरीयतामाथि सधैँ प्रश्न उठ्ने गरेको छ । एसइई परिक्षाको नतिजाले फेरिपनि शिक्षा क्षेत्रमा क्रान्तिको आवश्यता रहेको पुष्टि गरेको छ । एसइईको नतिजा सन्तोषजनक नहुनुमा विभिन्न कमजोरीहरु छन् । ती कमजोरीलाई पहिचान गरि गम्भिरतापुर्वक समाधान गर्न नसक्ने हो भने यहाँका शैक्षिक संस्था बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै हुनेछ । तसर्थ, शिक्षा क्षेत्रमा देखिएको बेथिति र कमजोरीको पहिचान गरेर गम्भिरतापुर्वक समाधानमा लाग्न सरोकारवाला निकायले अग्रसरता देखाउन जरुरी छ ।

सिन्धुलीको शिक्षा क्षेत्रमा व्यापक कमिकमजोरीहरु छन् । शैक्षिक संस्थालाई राजनैतिक हतियार बनाउनेदेखि आर्थिक अनियमितताका घट्ना सार्वजनिक भइरहेका छन् । तसर्थ, यहाँका निजि तथा सामुदायिक विद्यालयमा देखिएको बेथितिको अन्त्य गर्न तीनै तहको सरकारका प्रतिनिधि, विद्यार्थी संगठन, विद्यार्थी, नागरिक समाज लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । अतः एसइई नतिजाको समिक्षा गरि शिक्षा क्षेत्रको सुधारमा जिम्मेवार निकायले आवश्यक कदम चाल्न आवश्यक छ ।

प्रतिक्रिया