शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका ऐतिहासिक सम्पदाको महत्व बुझ

शुक्रवार , आषाढ १५, २०८१

सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाले भरिपुर्ण छ । सिन्धुलीमा सिन्धुलीगढीदेखि आदिलिंग कुशेश्वर महादेव मन्दिर, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको पुर्खौँली घर लगायत दर्जनौँ एतिहासिक संरचनाको भण्डार रहेको छ । तर, माल पाएर पनि चाल नपाएको भनेझैँ यहाँका राजनितिकर्मि, जनप्रतिनिधि लगायत राज्यको शक्ति उपभोग गरिरहेकाहरुले ऐतिहासिक सम्पदाको संरक्षण र सदुपयोग गर्न सकिरहेका छैनन् ।

ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउनुका साथै इतिहासबाट पाठ सिक्न मद्धत पुर्‍याउँछ । सिन्धुलीगढीको युद्धमा किनलकको नेतृत्वमा आएको अंग्रेजी फौजलाई पराजित गरेको गोर्खाली सेनाको विरताको कथा विश्वसामु पुर्‍याउन यहाँका सरोकारवाला निकाय असक्षम देखिएका छन् । नेपालमै पहिलो युद्ध संग्रहालयका बारेमा व्यापक प्रचारप्रसार हुन सकिरहेको छैन । राज्यले करोडौँ लगानी गरेर सुन्दर संरचना निर्माण गरेपनि स्थानिय सरकारले त्यसको परिचालन गर्न कच्चा देखिएका छन् । ‘किनलक पदयात्रा’ नामाकरणपछि व्यापक आलोचना भइहदा उक्त नाम जुराउनेहरुले ब्रिटिस पर्यटकको घुइँचो सिन्धुलीगढीमा झार्न सकेको भए आलोचाना केहि मथ्थर हुने थियो । हचुवाको भरमा निर्णय लिने र दुर्दर्शीताको कमिका कारण यहाँका एतिहासिक सम्पदाबाट स्थानिय सरकारदेखि तीनै तहको सरकारले लाभ लिन नसकेको अवस्था छ ।

जिल्लाको सुनकोशी गाउँपालिका ६ स्थित चैनपुर खोलाको किनारमा एक करोड बढि लागतमा निर्माण गरिएको संरचना प्रयोगविहिन हुँदा स्थानिय सरकारलाई कुनै चासो छैन । हजारौँ निजि सवारीसाधन गुड्ने विपी राजमार्गबाट केहि मिटर पर रहेको संरचनाको सदुपयो गर्न सके स्थानिय सरकारको आन्तरिक आम्दानि वृद्धि हुनुका साथै एतिहासिक संरक्षणाको संरक्षण समेत हुने थियो । यो त केहि उदाहरण मात्र हुन् ।

राज्यले लगानी गरेको संरचनाबाट प्रतिफल लिन सक्ने हुँदाहुदैँ पनि निति निर्माताको असक्षमता, अल्पज्ञान र उदासिनताका कारण यहाँका एतिहासिक सम्पदाको सदुपयोग हुन सकिरहेको छैन । तसर्थ, भावी पुस्ताका लागि ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले सिन्धुलीको भविष्य उज्ज्वल हुनेछ । पुरातात्विक महत्वका सम्पदाको वास्तविक स्वरूप बिग्रन नदिन विशेष प्रयत्नको आवश्यकता छ । अतः एतिहासिक सम्पदाको महत्व बुझेर पर्यटन क्षेत्रको विकासमा सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।

 

प्रतिक्रिया