जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध सप्ताहव्यापी कार्यक्रम सिन्धुलीमाढिमा सम्पन्न भएको छ । समापन कार्यक्रममा जिल्लाका स्थानिय तह, शैक्षिक संंस्था, जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले एकस्वरमा लागुऔषध निर्मुल गर्न आ–आफ्नो भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्लामा लागुऔषध विरुद्ध विभिन्न अभियान संचालन भएपनि लागुऔषध दुव्यर्सनि युवाको संख्या बढिरहेको छ । भारतसँगको नजिक दुरी, सडक संजालको विस्तार, बेरोजगारी, घरायसी समस्या, वित्तिय साक्षरताको कमि लगायत विविध कारणले युवाहरु लागुऔषधमा फसिरहेका छन् । पछिल्लो समय सिन्धुलीमै कडा खालका लागुऔषध भित्रिरहेको छ । राज्यको संयन्त्रले मात्रै लागुऔषध रोकथाम र नियन्त्रण असंभव छ । लागुऔषध निर्मुल पार्न र दुव्र्यसनिबाट कसैलाई निकाल्न घरपरिवार देखि साथीभाईको भुमिका पनि उत्तिकै महत्वपुर्ण हुन्छ । लागुऔषध दुव्र्यसनि एउटा रोग हो । कुलतमा फसेका युवालाई घृणा गर्ने भन्दापनि रोगको उपचार कसरी गर्ने भन्नेतर्फ सबै सचेत हुन जरुरी छ ।
सिन्धुलीमा लागुऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । तर, यहाँका स्थानीय सरकार, जनप्रतिनिधिले समाजको भयंकर समस्यालाई पहिचान गर्न सकिरहेका छैनन् । जिल्लामै पुनःस्थापना केन्द्र संचालन गर्न सरोकारवाला निकायले पहल नगर्ने हो भने आगामी दिनमा लागुऔषधले यहाँका युवालाई समाप्त पार्ने निश्चित छ । लागुऔषध विरुद्ध पार्टी प्यालेसमा कार्यक्रम गर्दैमा लागुऔषध निर्मुल हुन्छ भन्नु अत्युक्ति हुन्छ । त्यसैले, यहाँका हरेक सरोकारवाला निकायले लागुऔषध नियन्त्रण तथा रोकथाममा आ–आफ्नो भुमिका निभाउन जरुरी छ । स्थानिय सरकारले लागुऔषध परिक्षण किट प्रहरीलाई उपलब्ध गराउन सके यहाँका धेरै युवा भारत पुगेर लागुऔषध सेवन गर्ने आँट गर्नेछैनन् । त्यस्तै, युवालाई रोजगारीसहित उचित परामर्श दिन सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । लागुऔषध सिन्धुलीको मात्र नभएर विश्वकै समस्या हो । तसर्थ, लागुऔषध रोकथाम र नियन्त्रणकालागि हरेक नागरिको भुमिका हुन्छ । अतः लागुऔषध विरुद्ध राज्यको संयन्त्रसँगै सरोकारवाला निकाय एकजुट हुन आवश्यक छ ।