सिन्धुलीका स्थानीय तहले आगामी वर्षकोलागि बजेट सार्वजनिक गरेका छन् । हरेक वर्ष स्थानीय तह, प्रदेश र केन्द्र सरकारले बजेट निर्माण गर्दै आएको छ । विकासकालागि बजेट पर्याप्त छुटाएपनि पुँजीगत खर्च सन्तोषजक छैन । बजेट कार्यान्वयनमा अन्य दुई सरकारझैँ स्थानीय सरकारपनि चुकेको तथ्यांकले देखाउँछ । लक्ष्य अनुसार राजश्व संकलन गर्न नसक्नु, पुँजीगत खर्च कम हुनु, निति तथा कार्यक्रममा उल्लेख भएका योजनालाई पुर्णता दिन नसक्नु लगायत कर्मचारी र जनप्रतिनिधि मोटाउने गरि खर्च बढ्दा स्थानीय सरकार बजेट कार्यान्वयनमा असफल देखिएको सजिलै भन्न सकिन्छ । घरआँगनमै आएको सिंहदरबाररूपी स्थानीय सरकारले अन्य सरकारले गरेका गल्तिबाट पाठ सिक्दै अघि बढ्नुपर्ने आवश्यकता छ । तर, अध्ययन र अनुसन्धानलाई नजरअन्दाज गर्ने स्थानीय सरकारले एकपिच्छे अर्को गल्ति गर्दा स्थानीय रुष्ट भएको अवस्था छ । तसर्थ, विगतमा बजेट कार्यान्वयन गर्दा देखिएका समस्याको अध्ययन गर्दै आगामी आ.व.को बजेट कार्यान्वयनमा सक्षम देखिन कर्मचारी र जनप्रतिनिधि गम्भिर हुन जरुरी छ ।
सामान्यतः हामी जे भन्छौं सो गर्दैनौं । जे भन्दैनौं, सो गर्दछौं । यसरी, भनाइ र गराइबीचको ठूलो खाडल बन्दै गएको छ । त्यसैले, बजेटमा उल्लेख भए अनुसारको काम गर्न/गराउन स्थानीय सरकार सचेत हुन जरुरी छ । स्वार्थ समुहलाई मात्र रिझाउने गरि बजेट कार्यान्वयन गर्ने भन्दापनि समाजका हरेक तह, तप्काको हितमा स्थानीय सरकारले काम गर्नुपर्छ । चालु आ.व.को बजेटमा घोषित कार्यक्रमहरूको सफल कार्यान्वयन गरी आलोचनाबाट स्थानीय सरकारहरू मुक्त हुनुपर्छ । आफूलाई आफैँले बाँध्ने कार्ययोजनाको घोषणा र ‘वाचडग’ को सक्रिय भूमिकामा लाभग्राही जनतालाई राख्नु नै सफलतापूर्वक बजेट कार्यान्वयन आरम्भ हुनु हो भनी स्थानीय सरकारले समयमै बुझ्नुपर्छ । अतः बजेट निर्माणसँगै कार्यान्वयनमा पनि तीनै तहको सरकार गम्भिर र सचेत हुन आवश्यक छ ।