शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

व्यापारीलाई सिन्धुलीगढी नसुम्प

आइतवार , आषाढ १०, २०८१

युरोप बाहिर कहिकतैँ पराजय नव्यहोरेको अंग्रेजी फौजलाई गोर्खाली सेनाले पराजित गरेको स्थल हो सिन्धुलीगढी । सिन्धुलीगढी नेपाल एकीकरण र गोर्खाली फौजको वीरताको लागि चिनिएको क्षेत्र हो । तर, पछिल्लो समय सिन्धुलीगढीलाई कुरुप बनाउने काम भइरहेको छ । विरताको इतिहास बोकेको सिन्धुलीगढीमा कायरता प्रदर्शन गरिदैँछ । ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा निश्चित व्यक्ति र समुहलाई लाभ मिल्ने गरि व्यवसाय संचालन भइरहेको छ । विश्वको शक्ति डगमगाएको ठाउँमा राज्यको निकाय केहि व्यक्ति र समुहसँग लाचार भएको अवस्था छ ।

ऐतिहासिक स्थलमा निजि व्यवसाय संचालन गर्न अनुमति दिनु कायरता र लज्जास्पद विषय हो । ऐतिहासिक स्थलमा निजि व्यवसाय संचालन गर्न दिएर इतिहासलाई नै गिज्जाउने काम भइरहेको छ । राज्यको करोडौँको लगानीको फाईदा निश्चित व्यक्ति र व्यवसायीले लिइरहेका छन् । ऐतिहासिक स्थलमा बिना रोकतोक निजि संरक्षण वा निजि व्यवसाय संचालन हुँदा राज्यको संयन्त्रमाथिनै प्रश्न उठेको छ । तसर्थ, सिन्धुलीगढीमा निर्माण भएका निजि संरक्षणा र व्यवसायप्रति नेपाली सेना, कमलामाई नगरपालिका लगायत जिम्मेवार निकायले जवाफ दिन जरुरी छ ।

सिन्धुलीगढीले विरताको इतिहास बोकेको छ । पुर्खाले रगतको खोला बगाएर सुरक्षा गरेको क्षेत्रमा निश्चित व्यक्ति र समुहसँग साँठगाँठ गरेर ऐतिहासिक स्थलनै सुम्पिन खोज्नु पुर्खाप्रतिको अपमान हो । सिन्धुलीगढीमा निर्माण भएका संरचना र संचालन हुन लागेको व्यवसायप्रति नागरिक समाज, पत्रकार, विद्यार्थी लगायत हरेक नागरिकले प्रश्न गर्नुपर्छ । अतः ऐतिहासिक सिन्धुलीगढी कसैको व्यवसाय गर्ने थलो बन्न नदिन जिम्मेवार निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।

प्रतिक्रिया