चालु आर्थिक वर्ष २०८०/०८१ सकिन तीन हप्तामात्र बाँकी रहदा सिन्धुलीका सरकारी कार्यालयको खर्च बढिरहेको छ । आर्थिक वर्षको अन्तिम दिनहरुमा बजेट फ्रिज हुन नदिन जसरी पनि खर्च गरेर निश्चित व्यक्ति र समुहलाई रुझाउने गतिविधि हुने गरेको छ । जिल्लामा रहेका संघ, प्रदेश र स्थानिय सरकार मातहतका कार्यालयले ११ महिनासम्म थाति राखेको कामलाई एक महिनामा फत्ते पार्ने गरि हतारमा काम गर्ने गरेका छन् । आर्थिक वर्षको अन्तिम दिनहरुमा सरकारी कार्यालयले अनावश्यक खर्च गर्ने गरेको तथ्यांकलेनै देखाएको छ । सरोकारवाला निकायको मुख थुन्न आर्थिक वर्षको अन्तिम दिनहरुमा पैसा बाँड्ने काम हुने गरेको छ । ११ महिनाका कामको समिक्षा गर्ने भन्दापनि आफ्नो कमजोरीको ढाँकछोप गर्नतर्फ सरकारी निकाय अग्रसर भएको बुझ्न सकिन्छ । तसर्थ, असार महिनाको खर्चलाई पारदर्शि बनाउन सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ ।
नागरिकको करले राज्यको ढुकुटी भरिन्छ । सोहि ढुकुटीबाट फजुल खर्च भइरहदा सरोकारवाला निकाय मौन बस्ने हो भने जे गर्दापनि छुट हुन्छ भन्ने दंभ प्रशासकमा पलाउन सक्छ । त्यसैले, सरकारी कार्यालयको आय÷व्ययलाई पारदर्शि बनाउन नागरिक समाज, पत्रकार, विद्यार्थी लगायत सरोकारवाला निकायले दबाब दिन जरुरी छ । आफूले गरेको खर्च सार्वजनिक गर्न नसक्ने निकायलाई जिल्ला प्रशासन कार्यालय लगायत जिम्मेवार निकायले र्याख्यार्ख्ती पार्ने हो भने केहि हदसम्म आर्थिक अनुशासन कायम हुने छ । तसर्थ, अनावश्यक खर्च रोक्नकालागि सम्बन्धित निकाय सचेत हुन आवश्यक छ । अतः अनावश्यक खर्च गरेर नागरिकको करको दुरुपयोग हुन नदिन सरोकारवाला निकायले खबरदारि गर्न जरुरी छ ।