सिन्धुलीमा दुईवटा नगरपालिका छन् । जिल्लाको कमलामाई र दुधौली नगरपालिकामा जनघनत्व बढेसँगै विकास निर्माणका कामले तिव्रता पाइरहेको छ । वर्तमान समयमा नेपालको शहरी क्षेत्रलाई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । नगरपालिकामा निश्चित पूर्वाधार तयार हुनुपर्छ भनिए पनि त्यस्ता पूर्वाधारहरुको विकास भएको देखिँदैन । शहर एउटा ठूलो मानव समुदायलाई व्यवस्थित आवास, यातायात, स्वच्छता, उपयोगिता, भूमिको उपयोग र सञ्चारका लागि व्यापक सुविधायुक्त जगत् हो भन्ने मान्यता रहिआएको छ । उचित व्यवस्थापन, असल नीति र परिवर्तनशील योजनाहरु नहुँदा यसले शहरी भेगमा वतावरणीय असर र अब्यवस्थित बसोबास फैलन थालेको छ । शहरीकरण गर्नुअगाडि पर्याप्त पूर्वाधारको विकास र शहर बनेपछि आउने समस्याको समुचित व्यवस्थापन गर्न सकेमात्रै शहरीकरणले फाइदा पुर्याउँछ ।
संघीयता आएसँगै जिल्लाका नौँवटै स्थानिय तहमा विकासका कामहरु अघि बढिरहेका छन् । तर, व्यवस्थित विकास भन्दा पनि हचुवाका भरमा संरचना निर्माण हुँदा आगामी दिनमा समस्या आउने देखिन्छ । खानेपानी, नाला, सडक लगायत विकास निर्माणका संरचनामा जिम्मेवार निकाय सचेत नभएको अवस्था छ । जिल्लाका नगर तथा बजार क्षेत्रमा ढलको अभाव छ र फोहोरमैला व्यवस्थापनको प्रबन्ध मिलाउन सके पानीका श्रोतमा पुग्नुअगावै तिनलाई प्रशोधनको प्रक्रियाद्वारा सफा गराउन सकिन्थ्यो । तर, हाम्रा वहन गर्ने क्षमता नाघिसकेका शहरबाट निस्केका ढल तथा फोहोरमैला बिनाप्रशोधन नदीनाला, ताल एवं पोखरीमा पुग्ने गरेका छन् । त्यसै कारण, शहरवरिपरिका नदीलाई नदी नभनेर ढल नै भन्नुपर्ने अवस्था आएको छ । यतिमात्र नभएर अव्यवस्थित शहरीकरणका कारण आगामी दिनमा थप समस्या निम्तने देखिन्छ । तसर्थ, विकास निर्माण अघि बृहत गुरुयोजना बनाएर काम गर्नतर्फ सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।