सिन्धुलीका स्थानीय तहले असार १ गतेदेखि भदौ मसान्तसम्मकालागि नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । वर्षेनि वर्षातको समयमा देशभरका स्थानीय सरकारले नदिजन्य पदार्थ उत्खनन्मा बन्देज लगाउने गरेका छन् । स्थानीय सरकारको स्वामित्वमा रहेको नदिजन्य पदार्थको पहरेदार स्थानीय सरकारनै हो । सिन्धुलीको स्थानीय तहमा कुल चार सय १३ जना जनप्रतिनिधि छन् । ७९ वडा रहेको सिन्धुलीमा हरेक वडामा पाँचजना जनप्रतिनिधिका साथै कर्मचारी र राज्यको संयन्त्र छ । तर, नजिकको सरकारनै उदासिन र बेपर्वाह हुँदा टोलटोलमा बेथिति मौलाएको छ । स्थानीय सरकारको क्षेत्राधिकार रहेको हरेक क्षेत्रमा व्यापक आर्थिक अनियमितता र बेथिति छ । प्राकृतिक सम्पदाको दोहनमा जनप्रतिनिधिनै प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा संलग्न छन् भन्दा कुनै अत्युक्ति हुदैँन । किनभने, आँखा अगाढीनै कानुन विपरित क्रियाकलाप भइरहदा राज्यको शक्तिले आँखा चिम्लनुमा शंका उब्जाएको छ । तसर्थ, पहरेदारकै आँखा अगाढी मौलाइरहेको बेथितिको विरुद्ध हरेक नागरिकले आवाज उठाउन जरुरी छ ।
जिल्लामा रहेको प्राकृतिक सम्पत्तिको दोहन दिनहुँ बढिरहेको छ । यहाँका नदिजन्य पदार्थ देखि चुनढुंगामा तस्करको आँखा गडेको छ । जिल्लामा अन्य नागरिकलाई बन्देज लगाएर निश्चित व्यक्तिलाई खुकुलो बनाउँदै प्राकृतिक सम्पदाको दोहन भइरहेको छ । वर्षातको समयमा नदिजन्य पदार्थको उत्खननले जमिन कटानसँगै नदिको धारनै परिवर्तन गरिरहेको छ । तसर्थ, जिम्मेवार निकायले नदिजन्य पदार्थको अवैद्य उत्खनन् र कारोबारलाई निरुत्साहित पार्न थप कडाई गर्न आवश्यक छ । अतः पहरेदारको जिम्मेवारी पाएपछि आफ्नो कर्तव्य पालना गर्न जनप्रतिनिधि लगायत सम्बन्धित निकाय चुक्नुहुदैँन ।