सिन्धुलीका सरकारी कार्यालयमा कार्यरत कर्मचारीले सेवाग्राहीलाई अपहेलना गर्ने गरेको गुनासो आइरहेको छ । मुख्यतः युवा कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारप्रति बढ्दो असन्तुष्टि छ । हरेक नागरिक शिक्षित छैनन् र उनीहरुलाई सरकारी कार्यालयमा सेवा लिन सहायता चाहिन्छ । तर, ‘हेल्प डेस्क’ मा बसेको कर्मचारीलेनै सहयोग नगरेपछि सेवाग्राही विचल्लित हुने गरेका छन् । हरेक व्यक्तिकालागि समय मुल्यवान हुन्छ । सेवा लिन आएका सेवाग्राहीले आफ्नो बहुमुल्य समय त्यागेर सरकारी कार्यालय धाएका हुन्छन् । तर, कर्मचारी नभेटिने, अनावश्यक व्यक्तिसँग घण्टौँ घण्टा सम्म गफिने र सेवाग्राहीलाई दास सम्झिने प्रवृद्धिले नागरिक आक्रोशित भएको अवस्था छ । तसर्थ, कर्मचारीले गर्ने दुव्र्यवहारप्रति जिम्मेवार निकाय सचेत हुन जरुरी छ । अन्यथा, आगामी दिनमा कर्मचारीको दासत्वविरुद्ध सेवाग्राहीले प्रतिवाद नगर्लान् भन्न सकिन्न ।
जिल्लाका स्थानिय तहमा कमिशन बिना कामनै नहुने गरेको गुनासो बढ्दो छ । सानो बजेटको काममा समेत कमिशन दिनुपर्ने बाध्यता रहेको व्यवसायीले आरोप लगाउने गरेका छन् । उपभोक्ता समितिको कामदेखि ठेकेदारसँग कमिशन मागेर कर्मचारीले हैरान बनाउने गरेको गुनासो आइरहेको छ । तसर्थ, जनप्रतिनिधिले आफ्नो कार्यकक्षमा भइरहेको बेथितिको अन्त्य गर्न तर्फ विशेष चासो देखाउन जरुरी छ । अतः हरेक कर्मचारी एकैनासको नभएपनि अधिकांश कर्मचारीले गर्ने व्यवहारप्रति सेवाग्राही असन्तुष्ट रहेको हुँदा जिम्मेवार निकायले यसतर्फ सचेत हुन आवश्यक छ ।