देशमा संघीयता आएपनि नागरिकले संघीय व्यवस्थाको सकारात्मक पक्षलाई सदुपयोग गर्न सकिरहेका छैनन् । देशमा अहिले तीन तहका सरकार छन् । सबैभन्दा नजिकको सरकारसँग नागरिक प्रत्यक्ष जोडिएका हुन्छन् । तर, दुर्भाग्यनै भन्नुपर्छ स्थानीय तहमा नै आर्थिक अनियमितता र भ्रष्टाचार बढ्दो छ । वडादेखि पालिकाले संचालन गर्ने योजना तथा कार्यक्रममा स्थानिय जनता प्रत्यक्ष जोडिएका हुन्छन् । आफ्नै घरछेऊमा राज्यको लगानीमा योजना कार्यान्वयन भइरहदा समेत नागरिक होसियार नभएको अवस्था छ । हरेक नागरिक प्राविधिक होइनन् तर आँखै छेऊमा बदमासी हुँदा गाईगुईँ सुनेरै सम्बन्धित निकायलाई होसियारी गराउने अधिकार हरेक नागरिकसँग छ । संघीय व्यवस्थामा हरेक नागरिक सरकार हुन् । कर्मचारी र जनप्रनिधि सर्वोपरि होइनन् र जनता कमजोर हुदैँनन् । त्यसैले, अहिलेको राज्य व्यवस्थाका बारेमा विद्यालयदेखि हरेक क्षेत्रमा सचेतना फैलाउन जरुरी छ ।
सिन्धुली लगायत देशभरका स्थानिय तहमा बढ्दो आर्थिक अनियमितताको मुख्य कारण नागरिकको उदासिनता हो । नागरिकको करबाट संचालन भएका कुनैपनि निकायमाथि जनताले प्रश्न गर्न पाउँछन् । सूचनाको अधिकार प्रयोग गरेरै भएपनि हरेक सूचना लिन पाउने नागरिकको अधिकार छ । नागरिक सचेत हुदैँ खबरदारी गर्ने हो भने शक्ति र सेवा गर्न पुगेका सरकारी कर्मचारीदेखि जनप्रतिनिधि होसियार हुनेछन् भन्दा कुनै अत्युक्ति नहोला । तसर्थ, नागरिकलाई संघीयताको सबल पक्षका बारेमा बुझाउन तीनै तहको सरकार गम्भिर हुनुपर्दछ । पाठ्यपुस्तकमै संघीयता विषय समावेश गर्ने हो भने हरेक नागरिकले राज्यको कामलाई नजिकबाट निहाल्दै खबरदारी गर्नेछन् । वडाले गर्ने काम कर्तव्यदेखि पालिकाको क्षेत्राधिकार भित्र पर्ने योजना लगायत आधारभुत ज्ञानमात्र पनि नागरिकलाई दिन सकियो भने संघीयता बलियो हुन्छ र गैरकानुनि कामलाई गरि खाने भाँडो बनाउने निकाय त्रसित हुनेछन् । अतः नागरिकलाई अहिलेको व्यवस्था बुझाउदैँ खबरदारी गर्न सचेत गराउन जरुरी छ ।