सिन्धुली– सिन्धुलीमा जडिबुटी खोज्न जाँदा एकजनाको मृत्यु भएको छ । गत शुक्रबार घरबाट जडिबुटि खोज्न हिँडेका ५८ वर्षिय टेक बहादुर दंगालीको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले आईतबार जानकारी दिएको छ । जिल्लाको मरिण गाउँपालिका ०२ स्थित कटन डाँडामा दंगालीको शव शनिबार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रबि कुमार पौडेलले बताउनुभयो ।

दंगाली जडिबुटी खोज्न घरबाट हिँडेको र राती अबेरसम्म पनि घर नआएकोले खोजी गर्र्दै जाने क्रममा घरदेखि अन्दाजि ७ किलोमिटर पर मुंग्रेशिर भिर खोँचमा स्थानिय तथा आफन्तहरुले मृत अवस्थामा फेला पारेका थिए । एसएसपी पौडेलका अनुसार घटनास्थलको अवस्था हेर्दा दंगाली मुंग्रेशिर भिरबाट डेढ सय मिटर तल खसि मृत्यु भएको जस्तो देखिएको छ । कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम गरिएको र लाश मृतकको छोराले बुझि लगेको एसएसपी पौडेलले जानकारी दिनुभयो ।