आर्थिक वर्ष २०८०/०८१ सकिन एक महिना बाँकी रहदा सिन्धुलीका स्थानिय तहको पुँजिगत खर्च सन्तोषजनक छैन । आर्थिक वर्षको अन्तिम महिनमा बजेट खर्च गर्ने प्रवृद्धि देशभरीनै देखिएको छ । सिन्धुलीमा पनि आर्थिक वर्षको अन्त्यतिर स्थानिय तहले रफ्तारमा बजेट खर्च गर्ने गरेका छन् । अन्तिम महिनामा गरिने त्यस्ता खर्चले प्रभावकारी नतिजा दिदैँन । तर, जबरजस्ति बजेट खर्च गर्ने चलन रोकिएको छैन । तसर्थ, जिल्लाका स्थानिय तह र प्रदेश मातहतका कार्यालयलाई असारे विकास नगर्न सरोकारवाला निकायले सचेतत गराउन जरुरी छ । राज्यको संयन्त्रले गर्ने हरेक खर्चमा नागरिकको पसिना जोडिएको हुन्छ । नागरिकको करबाट संकलित रकमलाई दुरुपयोग हुन नदिन जिल्लाका सरोकारवाला निकायले खबरदारी गर्न आवश्यक छ ।
आर्थिक वर्षको अन्तिम महिनामा तीनै तहको मातहतमा रहेका कार्यालयले प्रतिपक्षमा रहेका सरोकारवाला निकायलाई चुप लगाउन बजेट खर्च गरेको नजिर छ । बजेट खर्च नहुने भएपछि फ्रिज गराउने भन्दापनि फजुल खर्चलाई राज्यको संयन्त्रले प्राथमिकतामा राखेको देखिन्छ । तसर्थ, राज्यको लगानी बालुवामा पानी हालेसरह हुन नदिनकालागि जिम्मेवार निकायले खबरदारि गर्न जरुरी छ । अतः बिना नतिजाको खर्चलाई निरुत्साहित गर्न सम्बन्धित निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।