शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बजेटमा विकास जोड

शुक्रवार , आषाढ १, २०८१

आगामी आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम र बजेट निर्माणकालागि सिन्धुलीका स्थानीय सरकार जोश, जाँगरका साथ योजना बनाइरहेका छन् । हरेक वर्ष स्थानीय तहको बजेटमा शिक्षा, स्वास्थ्य, पुर्वाधार लगायत रोजगारीलाई प्राथमकितामा राखेपनि बजेट कार्यान्वयनमा विविध जटिलता देखिएको छ । शिक्षा क्षेत्रकालागि ठूलै बजेट छुटाएपनि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरियतामा सधैँ प्रश्न उठ्ने गरेको छ । स्वास्थ्य क्षेत्रमा स्थानीय सरकारले नविनतम कार्यक्रम संचालन गर्न नसकेको अवस्था छ । जिल्लामा औषधिको अभाव र आर्थिक अभावका कारण नागरिकले ज्यान गुमाइरहेका छन् । तर, स्थानीय सरकारले विभिन्न कोषबाट गरिब तथा निम्न आर्थिक स्तरका नागरिकलाई आर्थिक सहयोग भन्दै नेता तथा कार्यकर्ताको पोषण गरिरहेको अवस्था छ । तसर्थ, बजेट निर्माणमा सैद्धान्तिकसँगै व्यवहारिक पक्षलाई प्राथमिकतामा राखेर समग्र क्षेत्रको विकास हुने गरि अनुमानित बजेट निकासा गर्न जरुरी छ ।

बजेट निर्माणको तयारीसँगै विभिन्न संघ, संस्थाले आफ्ना कार्यक्रमहरु लिएर स्थानीय सरकारमा लबिङ शुरु गरिसकेका छन् । विकास भन्दा पनि निश्चित गैर सरकारी संस्थाको हितमा जनप्रतिनिधिको स्वार्थ जोडिएको विगतको निति तथा कार्यक्रमले देखाएको छ । स्थानीय तह केहि व्यक्ति र संघ, संस्थाकालागि दुहुनो गाई भएको छ भने बजेटमा हस्तक्षेप बढेको छ । जनप्रतिनिधि अध्ययनशिल नहुँदा स्वार्थि समुहले स्थानीय तहमा एकाधिकार जमाएको अवस्था छ । तसर्थ, जिल्लाका स्थानीय सरकारले घाँटी अनुसारको हाँड निल्ने गरि बजेट निर्माण गर्न जरुरी छ । बजेटमा स्वार्थ समुहलाई लाभान्वित गराउने भन्दापनि विकासलाई जोड दिन सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । बजेट निर्माणमा कर्मचारीले आफूलाई कमिशन मिल्ने कार्यक्रममा धेरै बजेट हाल्ने गरेको गुनासो पनि आउने गरेको छ । तसर्थ, जनप्रतिनिधिले विज्ञसँग छलफल गरि समग्र क्षेत्रको विकास हुनेखालको बजेट ल्याउन आवश्यक छ । अतः बजेटमा कोहि स्वार्थ समुह नजोडिउन् र बजेटले विकासलाई जोडोस्, शुभकामना !

सम्बन्धित विषय:

प्रतिक्रिया