सिन्धुली– जंगली च्याउ खाँदा तिनपाटन गाउँपालिका ४ विस्टार का एकै परिवारका पाँचजना विरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा विस्टारका ६७ वर्षिय केशर बहादुर भुजेल, भुजेलको ५३ वर्षिय श्रीमती पुर्ण माया भुजेल, छोरा ३८ वर्षिय घनश्याम भुजेल, नाति २१ वर्षिय किरण भुजेल र किरण भुजेलको श्रीमती २० वर्षिय नानीमाया समाल मध्यम बिरामी परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपि) अनिल बहादुर खड्काले जानकारी दिनुभयो ।
विरामी सवैको प्राथमिक स्वास्थ्य केन्द्र लाम्पाङटारमा उपचार भईरहेको डिएसपि खड्काले बताउनुभयो । भुजेलेको परिवारले बुधबार राती जंगलबाट च्याउ ल्याई बिहिबार बिहान खाएको तिनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले बताउनुभयो । अस्पतालमै रहनुभएका अध्यक्ष मगरले भन्नुभयो, ‘बिरामीहरुको स्वास्थ्य केन्द्र लाम्पाङटारमा प्राथमिक उपचार भइरहेको छ । अवस्था मध्यम रहेकोले डाक्टरको सल्लाह बमोजिम आवश्यक परेमा सिन्धुली अस्पतल लगिनेछ ।’
जंगलमा उम्रिएका सबै च्याउ खानका लागि योग्य हुँदैनन् । चिकित्सक तथा विज्ञहरुले त्यस्ता च्याउ नखान सुझाव दिए पनि आफूखुसी प्रयोग गर्ने गरेका कारण देशभर बर्सेनि सयौँ मानिस बिरामी हुन्छन् भने केहीले ज्यानै गुमाउँछन् । बिषालु च्याउ खाँदा बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने लक्षण देखा पर्दछन् । जंगली च्याउमा रहेको विषका कारण कलेजो तथा मृगौलामा असर पार्दछ । जसले मानिसको ज्यानै जाने खतरा हुन्छ । च्याउ कतिपयमा औषधीय गुण भएको तरकारी हो । तर त्यही च्याउ नचिनेर खाादा थुप्रै मानिसहरुले अकालमा ज्यान पनि गुमाइ राखेका छन् ।