करदाता सेवा कार्यालय सिन्धुलीले बारम्बार करदातालाई कर तिर्न ताकेता गरिरहेको छ । सामाजिक संजालदेखि अन्य माध्यमबाट कर तिर्न करदातालाई आग्रह गरिरहेको छ । जिल्लामा कतिपय करका बिषयमा अझै थुप्रै अस्पष्टताहरु छन् । जुन उद्योगी, व्यवसायीदेखि सर्वसाधारण सम्मलाई करदाता सेवा कार्यालयले बिभिन्न कार्यक्रम मार्फत प्रष्ट पार्नुपर्छ । कर तिर्ने क्रममा झञ्झटिला प्रक्रियाहरुलाई सरलिकृत बनाउनु पर्छ । कर हरेक नागरिकले रहरले तिर्ने बातावरण बनाउन आवश्यक छ । यसका लागि सबै भन्दा बढी राज्य जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्छ ।
नागरिकले आफ्नो अथक मेहेनत र पसिनाबाट आर्जेको आम्दानीबाट तिर्ने करको नागरिकलाई प्रत्यक्ष अनुभूत गर्ने गरि सही सदुपयोग हुनुपर्छ । कर तिरिरहने तर सरकारका तर्फबाट भ्रष्टाचार, मनपरी गरेर भौतिक विलासितामा खर्चिन थालियो भने त्यसले निश्चय पनि बिग्रह पैदा गर्दछ । आँफुले तिरेको कर के मा र कसरी खर्च भइरहेको छ भन्नेबारे सबैले सचेत रुपमा रखबारी गर्नुपर्छ । जति सहज र सरल प्रक्रियाबाट कर तिर्ने बातावरण बन्छ, त्यति त्यति नागरिकमा पनि कर तिर्नुपर्ने दायित्व र जिम्मेवारीबोध हुन्छ । अहिले कर भनेको अप्ठ्यारो हाउगुजी जस्तो बनेको र बनाइएको छ । यसमा करदाता सेवा कार्यालयले समयमै प्रविधिमैत्री सोचको विकास गरेर कर सबैको रहर बनाउने गरि काम गर्न सक्नुपर्छ ।