सिन्धुलीमा कानुन र प्रक्रिया मिचेर राज्यकोषबाट खर्च भएको बेरुजु रकम बढिरहेकोछ । आर्थिक अनुशासनहिनता बढिरहदा सरोकारवाला निकाय मौन देखिएका छन् । बेरुजुको मात्रा बर्सेनि बढ्दै जानु वित्तीय प्रभावकारिता तथा आर्थिक सुशासनका दृष्टिमा चिन्ताको विषय हो । समय सीमाभित्रै बेरुजु फस्र्योट गर्नुपर्ने दायित्व बोध नहुनु, स्रोतसाधनको उपयोगमा चुहावट, दुरुपयोग तथा अनियमितता नियन्त्रण गर्न नसक्नु, आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक लेखा परीक्षण कमजोर हुनुलेसमेत बढ्दो बेरुजुलाई मलजल गरेको छ । गाउँगाउँमा सिंहदरबारसँगै खर्चिलो सिंह पनि प्रवेश गरेको महालेखापरिक्षकको प्रतिवेदनले देखाउँछ । जनप्रतिनिधिमा अल्पज्ञान, कर्मचारीलाई दबाब लगायत विविध कारणले सिन्धुलीमा बेरुजु बढिरहेको हुँदा यसतर्फ सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ ।
जिल्लाको तीनपाटन गाउँपालिका नौँवटा स्थानिय तहमध्य लगातार चार वर्ष सबैभन्दा बढि बेरुजु भएको प्रतिवेदनले देखाएको छ । सो गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको फेरबदल भइरहन्छ । कर्मचारीसँग मिल्नै नखोज्ने र दबाब दिएर काम गराउने परिपाटिले गर्दा बेरुजु बढिरहेको छ । तसर्थ, तीनपाटनका नागरिकले बेरुजु बढ्नुको वास्तविकता बुझ्न सम्बन्धित पक्षलाई गुहार्नुपर्ने अवस्था आएको छ । बढ्दो बेरुजुले आर्थिक अनुशासनहिनतालाई स्पष्ट देखाउँछ । अतः आर्थिक अनुशासनको पालना गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।