गर्मी शुरु भएपछि सिन्धुलीवासीलाई खानेपानीको समस्याले पिरोल्ने गरेको छ । हरेक वर्ष सुख्खा याममा यहाँका अधिकांश ठाउँहरुमा पानीको हाहाकार मच्चिने गरेको छ । जनताको आधारभूत आवश्यकतामा पर्ने खानेपानीको सहज आपूर्ति गर्न नसक्नु सरकारको कमजोरी हो । आम उपभोक्ताले खानेपानी वितरण प्रणाली समानुपातिक र न्यायोचित हुन नसकेको भनेर गुनासो गरेको सुनिन्छ । कुनै ठाउँमा दिनहुँ पानी आउने र कतै हप्तौँ नआउने अवस्था सिर्जना भएपछि उपभोक्तामा असन्तुष्टि बढ्नु अस्वाभाविक होइन । खानेपानीजस्तो अत्यावश्यक दैनिक उपयोग्य वस्तुको सुलभ व्यवस्था सरकारको दायित्व हो । उपभोक्ताले पानीको सञ्चय गर्ने प्रवृत्ति बढाउनुपर्छ । यद्यपि मुख्य जिम्मेवारी सरकार र व्यवस्थापनको जिम्मा लिएको खानेपानी उपभोक्ता समितिहरुले लिनुपर्छ । उसले खानेपानीमा भइरहेको व्यापक चुहावट नियन्त्रणमा संवेदनशील हुनुपर्छ । न्यायोचित वितरण नभएका ठाउँमा वैकल्पिक व्यवस्था गर्ने, परम्परागत इनार, कुवा ढुंगेधारा मर्मत गरी स्रोत बढाउने अभियान थाल्नुपर्छ । सरकारले यो सधैँको अभाव र समस्याको निरूपण गर्ने दीर्घकालीन उपाय अवलम्बन गर्नुपर्छ ।
बढ्दो अव्यवस्थित शहरीकरणले खानेपानीसँग विभिन्न समस्या निम्ताएको छ । खानेपानीको माग दिनहुँ बढिरहेको हुँदा पानीको उचित व्यवस्थापन गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ । त्यस्तै, पानी चुहावट हुन नदिन जिम्मेवार पक्ष सचेत हुन आवश्यक छ ।