आज शनिबार हो । आज देशभरका सरकारी कार्यालय बन्द रहन्छन् । तर, सडकमा भने सरकारी नम्बर प्लेटका गाडी छ्याप्छ्याप्ती देखिन्छन् । सरकारी कामकाजकालागि प्रयोग गरिनुपर्ने सवारीसाधनको चरम दुरुपयोग हुदैँ आएको छ । सिन्धुलीमा पनि सरकारी गाडीलाई निजि सम्पत्ति जसरी परिवारको सदस्य ओसारपसार गर्न, भ्रमणमा जान, नेताको चाप्लुसी गर्न लगायत निजि प्रयोजनमा सरकारी गाडीको दुरुपयोग भइरहेको छ । जिल्ला प्रशासन कार्यालयबाट पास लिएर सार्वजनिक बिदाको दिनपनि सार्वजनिक कामकालागि सरकारी गाडी गुडाउन पाइन्छ । तर, पास लिएर भन्दापनि अनुमतिनै नलिई निर्बाध रुपमा सिन्धुलीमा सरकारी गाडीको दुरुपयोग भएको छ । स्थानिय तहका गाडी देखि प्रदेश र केन्द्र सरकार मातहतका सरकारी कार्यालयमा रहेको गाडीको दुरुपयोग हुदैँ आएको छ । जिल्ला प्रशासन कार्यालयले पनि सरकारी सम्पत्तिको दुरुपयोग भइरहेको भेउ पाएपनि नियमन गर्न कुनैपनि चासो नदेखाएको अवस्था छ । जनताको करबाट खरिद गरिएको सरकारी सम्पत्ति कसैको विलासिताकालागि वा निजि प्रयोजनमा दुरुपयोग हुनु गैरकानुनि हो । तसर्थ, नियमनकारी निकायले सरकारी सम्पत्तिको दुरुपयोग हुन नदिन ट्राफिक प्रहरीसँग समन्वय गरि कडाई गर्न आवश्यक छ ।
जिल्लाका सरकारी कार्यालयमा इन्धन खपत व्यापक हुने गरेको छ । स्थानिय तहमा त झनै इन्धनको प्रयोग बढि हुदैँ आएको छ । सवारी मर्मत देखि इन्धन खरिदमै स्थानिय सरकारले वर्षेनि करोडौँ खर्च गरिरहेको तथ्यांकले देखाउँछ । जनताको सेवा गर्न खरिद गरिएका सवारीसाधन कसैको विलासिता वा मनोरञ्जनको साधन भइरहेको हुँदा नियमनकारी निकायले कडाई गर्न जरुरी छ । अतः सेतो प्लेटमा रातो रंगले नम्बर लेखिएको गाडीलाई गैरकानुनि ढंगमा संचालन हुन नदिन सम्बन्धित निकाय चनाखोसँगै निमर्म हुन आवश्यक छ ।