शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिदामा रहेका विद्यार्थीलाई सिप देऊ

शुक्रवार , जेठ ४, २०८१

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सिन्धुलीबाट सहभागि ५ हजार ३ सय १५ जना परीक्षार्थी अहिले बिदामा छन् । गत चैत २५ गतेबाट फुर्सदिला बनेका ती विद्यार्थीलाइ राज्यको कुनैपनि निकायले वास्ता गरेका छैनन् । एसईई पछि  के पढ्ने, कहाँ पढ्ने र नेपाल लगायत विश्वमा कस्ता जनशक्तिको माग छ भन्ने विषयमा समेत विद्यार्थीहरु अन्यौलमा छन् । १० कक्षासम्म अध्ययन गरेको विद्यालयदेखि स्थानीय सरकार लगायत सरोकारवाला निकायले फुर्सदिला विद्यार्थीलाई परामर्श दिन बेवास्था गरेको अवस्था छ । एसईईको नतिजा झण्डै तीन महिनापछि प्रकाशित हुनेहुँदा नजिकको सरकार मानिएको स्थानीय सरकारले विद्यार्थीलाई सिपमुलक तालिम दिन जरुरी छ । देशमा बढ्दो बेरोजगारी र विदेश पलायनलाई निरुत्साहित पार्न दुर्गामि सोचको आवश्यकता छ । तर, यहाँमात्र नभएर देशभर एसईई परिक्षा दिएर फुर्सदमा बसेका झण्डै पाँच लाख बढि विद्यार्थीलाई राज्यले प्राथमिकतामा राख्न सकेको छैन । तसर्थ, १० वर्ष अध्ययन गरेर बिदामा बसेका विद्यार्थीलाई सिपसँगै उच्च अध्ययनकालागि परामर्श दिन स्थानिय सरकारदेखि तीनै तहको सरकार मातहतका निकाय गम्भिर हुन आवश्यक छ ।

जिल्लाको तिनपाटन गाउँपालिकाको वडा नम्बर ७ ले यहाँका विद्यार्थीलाई सिपमुलक तालिम दिईरहेको छ । एसईई दिएर फुर्सदमा रहेका विद्यार्थीलाई कम्प्युटर तालिम दिएर उक्त वडाले प्रशंसायोग्य काम गरिरहेको छ । वडाले सुरुवात गरेको उक्त कामलाई नगर÷गाउँपालिका हुँदै केन्द्रिय स्तरमा रहेका जिम्मेवार निकायले पछ्याउन जरुरी छ । विद्यार्थी भविष्यका कर्णधार हुन् र उनीहरुलाई परिपक्व र सिपमुलक बनाउन राज्यले विशेष चासो देखाउनुपर्दछ । अतः फुर्सदमा रहेका विद्यार्थीलाई सिपमुलक कार्यक्रममा सहभागि गराएर दक्ष जनशक्ति उत्पादनमा तीनै तहको सरकार गम्भिर हुन जरुरीछ ।

प्रतिक्रिया