सिन्धुलीका शैक्षिक संस्था बेलाबखतमा राजनैतिक दलको हर्कतले गर्दा आलोचित हुने गरेको छ । राजनैतिक दलले कलिला विद्यार्थीलाई विद्यालयमै पुगेर झण्डा बोकाउँदै पार्टी प्रवेश गराउनेदेखि विद्यालयमै नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने गरेको छ । जिल्लाका राजनैतिक दलले शैक्षिक संस्थालाई आफ्ना नेता तथा कार्यकर्ता प्रशिक्षण गर्ने थलो बनाएका छन् । विद्यालयमा पार्टीगत क्रियाकलाप भइरहदापनि विद्यालय व्यवस्थापन समिति लाचार देखिने गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजनैतिक दलकै नेता तथा कार्यकर्ता नियुक्ति हुनेहुँदा उनीहरुनै विद्यालयमा राजनैतिक गतिविधि गर्न तम्सिने गरेका छन् । शैक्षिक संस्थामा हुने राजनैतिक दलको गतिविधिले विद्यार्थीमा नकारात्मक संदेश पुगेको छ । बिदाको दिन होस् वा नियमित कक्षा संचालन भइरहदासमेत राजनैतिक दलले हस्तक्षेप गरेको विभिन्न घट्नाले देखाएको छ । कक्षाकोठामा अध्ययन गर्दै गरेका कलिला विद्यार्थीलाई अबिर र फुलमाया लगाएर पार्टी प्रवेश गराउने गलत क्रियाकलाप यहाँ भइरहेको छ । यतिमात्र नभएर विद्यालयमै सम्पत्तिको समेत दुरुपयोग भएको छ ।
शिक्षालाई गुणस्तरीय बनाउन यहाँका राजनैतिक दल बेखबर छन् । तर, शैक्षिक संस्थामा पार्टीको कामकार्वाही बढाउने सवालमा दलका नेता, कार्यकर्ता अग्रपंक्तिमा देखिन्छन् । विद्यार्थी संगठनले विद्यार्थीको हकहित भन्दापनि नेतृत्व रुझाउन तर्फ लागि परेको अवस्था छ । तसर्थ, विद्यालयलाई पार्टी कार्यालय बनाउने क्रियाकलाप रोक्न अभिभावकदेखि सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । अतः राजनैतिक दलको गलत क्रियाकलापलाई खबरदारि गर्न नागरिक चुक्नुहुदैँन ।