शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

समस्या सुल्झाउनतर्फ लाग

मंगलवार , जेठ १, २०८१

सिन्धुलीमा पछिल्लो समय लागूऔषध सेवनका कारण भविष्यका कर्णाधार मानिएका युवाको जीवन बर्बाद बन्न पुगेको छ । सिन्धुलीसहित नेपालका ७७ जिल्लामा प्रहरीको अनुसन्धानले वार्षिक ११.६ प्रतिशतका दरले लागूऔषध दुव्र्यसनीको संख्या बढिरहेको देखाएको छ । एकातिर जीवनकै बर्बादी र अर्कोतर्फ अर्बौं रुपैयाँ स्वाहा पार्ने लागूऔषध दुव्र्यसन न्यूनीकरण गर्न ठूलो चुनौती बढिरहेको छ । नेपालबाट लागूऔषधमा मात्रै वार्षिक ३० अर्ब रुपैयाँ बाहिरिने गरेको छ । नेपालमा हुने घरेलु तथा महिला हिंसाका ९९ प्रतिशत घटना लागूपदार्थको दुर्व्यसनीकै कारण भइरहेको प्रहरीको दाबी छ । सामान्य लागूपदार्थको लत हुँदै कडाखालका लागूऔषधको प्रयोग गर्नेहरु बढ्दै जानु मुलुककै लागि ठूलो दुर्भाग्य हो ।

राज्यले लागूपदार्थको दुव्र्यसन बढाउने कारणको खोजी गरी यसको भयानक अवस्थाबारे परिवार, गाउँटोल, विद्यालय र होटल रेस्टुराहरुमा सुरक्षित जीवनबारे सचेतना फैलाउन सक्नुपर्छ । खराब साथीभाइको संगत, आमाबाबुले छोराछोरीलाई पर्याप्त समय दिन नसक्दा, लागूपदार्थले पार्ने दीर्घकालीन असरबारे जानकारी नहुँदा, सहजैरुपमा उपलब्ध हुँदा, मनोरञ्जन र देखासिकीका कारण प्रयोग गर्दा र पारिवारिक विखण्डनले गर्दा बालबालिकाहरु लागूपदार्थको दुर्व्यसनमा फस्ने गरेका हुन्छन् । यी समस्या सुल्झाउँदै लागूऔषधको बेचबिखन, ओसारपसार र प्रयोगविरुद्ध जनस्तरमा सामूहिक अभियान चलाउनु उत्तिकै आवश्यक देखिन्छ । अतः लागुऔषधविरुद्ध व्यापक जनचेतना र प्रभावकारी कदमको आवश्यकता छ ।

प्रतिक्रिया